छैठौं संस्करणको स्लो बाइक प्रतियोगिता पुस २७ गते हुने

विहीबार, २४ पुस २०८२, १६ : २१

काठमाडौं- बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना फैलाउने उद्देश्यसहित नेपालगन्जमा स्लो बाइक प्रतियोगिता हुने भएको छ । 

बास नेपालले विगत पाँच वर्षदेखि निरन्तर सञ्चालन गर्दै आएको स्लो बाइक प्रतियोगिताको छैठौं संस्करण पुस २७ गते नेपालगन्जमा आयोजना गर्न लागिएको हो ।

ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा आयोजना हुने उक्त प्रतियोगिता नेपालगन्जको न्यूरोड क्षेत्रमा सञ्चालन गरिनेछ । प्रतियोगितामा सहभागीले निर्धारित १०० मिटर दूरी सबैभन्दा कम समयमा अर्थात् सुस्त गतिमा पार गर्नुपर्नेछ । सबैभन्दा सुस्त गतिमा दूरी पूरा गर्ने प्रतियोगी विजयी घोषित हुनेछन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

बढ्दो सवारी दुर्घटनाप्रति आम नागरिकलाई सचेत गराउने, ट्राफिक नियमको पालना गर्दै सीमित गतिमा सवारी चलाउन प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बास नेपालले जनाएको छ । पछिल्लो समय विशेषगरी युवा पुस्ताले तीव्र गतिमा सवारी चलाउँदा दैनिकजसो दुर्घटनाको सिकार भइरहेका सन्दर्भमा सुस्त गतिमा सवारी चलाउँदा दुर्घटनाजस्तो भयावह अवस्थाबाट जोगिन सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले अनलाइन माध्यमबाट वा बास नेपालको कार्यालयमा उपस्थित भई नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । सवारी दुर्घटना न्यूनीकरणको अभियानमा ऐक्यबद्धता जनाउन बास नेपालले सबैमा सहभागिताका लागि अपिल गरेको छ ।

विहीबार, २४ पुस २०८२, १६ : २१

प्रतिक्रिया