भारतीय माओवादी प्रभावित छत्तीसगढमा सुरक्षाकर्मीले किन गरिरहेका छन् आत्महत्या ?

६ बर्ष अगाडि
 
छत्तीसगढ–भारतीय माओवादी(नक्सलवादी) प्रभावित छत्तीसगढमा तैनाथ भारतीय सुरक्षा बलका जवानहरु माओवादीको साथसाथै मानसिक तनावको पनि सामना गरिरहेका छन् । यी सुरक्षाकर्मीहरु आफ्नो मानसिक पीडाबाट यो हदसम्म पिडित छन् कि आफ्नो ज्यान नै लिइरहेका छन् । पछिल्लो वर्ष यो राज्यमा ३६ सुरक्षाकर्मीहरुले आत्महत्या गरे ।
पछिल्लो महिना छत्तीसगढको बिलासपुर जिल्लामा तैनाथ केन्द्रीय रिजर्व पुलिस बलको सहायक उपनिरीक्षक पुष्पेन्द्र बहादुर सिंहले आफैले बोकेको रिभल्वरले आफुलाई हाने । मध्यप्रदेशको कटनी निवासी सिंहलाई अस्पताल पु¥याउदा चिकित्सकहरुले उनलाई मृत घोषणा गरे । सिंहको आत्महत्याको कारणको जाँच भइरहेको छ ।
सिंहको आत्महत्याको अघिल्लो दिन माओवादी प्रभावित राजनादगाव जिल्लामा भारत–तीब्बत सीमा प्रहरीका एक जवानले आफूले बोकिरहेको राइफलले आफ्नो ज्यान लिएका थिए । आईटीबीपीको ४४औं बाहिनीका ३१ वर्षे गगन सिंहको आत्महत्याको मुद्धाको पनि जाँच भइरहेको छ ।
कांकेर जिल्लामा अघिल्लो वर्ष नोभेम्बरमा सीमा सुरक्षा बलका जवान पवार प्रसाद दिनकरले आफ्नै राइफलले आफ्नो पेटमा गोली हानेर ज्यान लिएका थिए ।
छत्तीसगढमा यस्तो कयैन घटनाहरु भएको छ जसमा सैनिकहरुले आफूले बोकेको राइफल वा पेस्तोलको प्रयोग आत्महत्या गर्नको लागि प्रयोग गरिरहेका छन् ।
राज्यको पुलिस विभागबाट प्राप्त जानकारीहरुको अनुसार सन् २००७ बाट  सन् २०१७ अक्टोबरसम्मको स्थितीमा सुरक्षा बलका ११५ सैनिकले आत्महत्या गरे । यसमा राज्यका ७६ तथा अर्धसैनिक बलका ३९ सैनिक छन् ।
यो तथ्याङ्क अनुसार व्यक्तिगत र पारिवारिक कारणले ५८ सुरक्षाकर्मीले, बिमारीको कारण १२ सुरक्षाकर्मीले, कामसँग सम्बन्धित(अवकाश नपाइएको) कारणबाट ९ सुरक्षाकर्मीले तथा अन्य कारणहरुले १५ सुरक्षाकर्मीले आत्महत्या गरे । उता २१ सुरक्षाकर्मीको आत्महत्याको कारणको जाँच भइरहेको छ ।
तथ्याङ्कको आधारमा सन् २०१७ मा सबैभन्दा धेरै ३६ सैनिकले आत्महत्या गरे । त्यस्तै सन् २००९ मा १३ले, सन् २०१६ मा १२ सैनिकले तथा सन् २०१२ मा ११ सैनिकको आत्महत्याको घटना दर्ता भएको छ ।
मानसिक तनाव समेत अन्य मानसिक रोगमाथि पछिल्लो केही दशकबाट काम गरिरहेका राज्यका प्रसिद्ध मनोचिकित्सक अरुणांशु परियल सुरक्षाकर्मीहरुको आत्महत्याबारे जानकारी राख्छन् । उनका अनुसार पुलिस विभाग केही यस्तो विभागमध्ये पर्छ, जहाँ तनाव धेरै हुन्छ । 
परियलको भनाईमा माओवादी प्रभावित क्षेत्रमा तैनाथ सैनिकहरु लगातार नक्सल विरोधी अभियानमा लागिरहेका हुन्छन् । त्यही कारणले उनीहरु हरसमय तनावमा हुन्छन् । अर्को उनीहरु परिवारबाट टाढा रहेकाले एक खालको विरही भाव पनि रहेको हुन्छ । त्यसमाथि घरबाट पारिवारिक समस्याको सूचना पाउँदा उनीहरुको तनाव यति बढ्छ कि उनीहरु आत्महत्या गर्छन् ।
मनोचिकित्सकहरु यस्तो घटनाहरु रोक्नको लागि विभागीय हिसाबमा कदम चाल्नुपर्ने सुझाव दिन्छन् । अधिकारीहरुले आफ्नो मातहतमा रहने कर्मचारीहरुसँग राम्रो तालमेल बनाउन र उनीहरुको समस्याहरु सोध्नुपर्ने चिकित्सकहरु बताउँछन् । कर्मचारीहरुले आफ्नो समस्याहरु व्यक्त गर्न सक्ने समूहको निर्माण गर्नाले पनि सकारात्मक असर पर्छ ।
राज्यको विशेष पुलिस महानिर्देशक डीएम अवस्थीले माओवादी प्रभावित क्षेत्रमा तैनाथ सुरक्षा बलमा भइरहेको आत्महत्या घटनाहरु घटाउनको लागि लगातार प्रयासहरु भइरहेको बताए । यो क्षेत्रमा तैनाथ पुलिस तथा अर्धसैनिक बलका अधिकारिहरुलाई आफ्नो मातहतका कर्मचारीहरुको समस्या सुन्न र त्यसलाई सुल्झाउन प्रयास गर्न निर्देशन दिइएको उनले बताए ।
अवस्थीले सुरक्षा बलको तनाव अन्त्य गर्नको लागि योग अभ्यासको जानकारी दिइरहेको र म्युजिक थेरापीको लागि राज्यको मनोचिकित्सकहरुसँग परामर्श भइरहेको बताए । उनका अनुसार शीघ्र सुरक्षकर्मीहरुलाई यो थेरापीको जनाकारी दिन थालिनेछ ।
६ बर्ष अगाडि

प्रतिक्रिया