गायिका बबिना भट्टराईको आवाजमा नयाँ गीत ‘लोभी नजर’ सार्वजनिक (भिडियो)

शनिबार, १७ माघ २०८२, १३ : ००

काठमाडौं- गीतकार सतिश चापागाईको शब्द रचनामा तयार भएको नयाँ गीत ‘लोभी नजर’ सार्वजनिक भएको छ ।

प्रेम, त्याग, आत्मसमर्पण र सामाजिक व्यवहारमा हुने भावनात्मक शोषणलाई गहिरो रूपमा चित्रण गरिएको यस गीतमा गायिका तथा संगीतकार बबिना भट्टराईको स्वर र संगीत रहेको छ ।

गीत ‘लोभी नजर’ ले अरूका लागि बाँच्दै आफूलाई नै गुमाउँदै जाने एउटा संवेदनशील पात्रको कथा प्रस्तुत गर्छ । अत्यधिक समर्पण, असन्तुलित प्रेम र स्वार्थी सामाजिक प्रवृत्तिका कारण सिर्जना हुने पीडालाई गीतका हरफहरूले मार्मिक रूपमा उजागर गरेका छन् ।

गीतको एरेञ्ज विश्व अधिकारीले गरेका छन् । ओपल रेकर्डिङ स्टुडियोमा शंकर लिम्बुले रेकर्ड गरेको यस गीतको मिक्सिङ तथा मास्टरिङ पनि विश्व अधिकारीले नै गरेका हुन् । गीतमा गितार विश्व अधिकारी, मादल पोषण घर्ती मगर, बाँसुरी गोपाल देव र सारङ्गी हेमन्त कान्छा रसाइलीको वाद्यवादन रहेको छ ।

रिमा फिल्म्सको पोस्ट–प्रोडक्सनमा तयार भएको गीतको भिडियोमा दिनेश विष्टको छायांकन तथा मिराज अर्यालको निर्देशन, सम्पादन र कलर रहेको छ । भिडियोमा गायिका बबिना भट्टराई स्वयं फिचर्ड छिन् भने उनलाई आशिष खतिवडा, आशिष अर्याल, शान्ति भट्ट, दीक्षा चौधरी र बाल कलाकार आलोक तथा आरुसी अर्यालले साथ दिएका छन् ।

गीत ‘लोभी नजर’ गीतकार सतिश चापागाईको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

 
शनिबार, १७ माघ २०८२, १३ : ००

प्रतिक्रिया