काठमाडौं- प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ तथा बहुआयामिक सर्जक डा. भोला रिजालको शब्दरचना रहेको राष्ट्रभावले ओतप्रोत गीत ‘अन्धकार पन्छाएर’ सार्वजनिक भएको छ। शिव परियारको सशक्त स्वर, शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतको भिडियो हालै सार्वजनिक गरिएको हो।
वीरेन्द्र भाट ‘विपिन’को निर्देशनमा बनेको गीतको भिडियोमा वरिष्ठ कलाकार रमेश बुढाथोकी, डा. नवीन यादव, विष्णु रोक्का, जयन्त रेग्मी, सुशील श्रेष्ठलगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ। सरला रिजालको प्रस्तुति रहेको भिडियोको छायांकन महेश महाराले गरेका हुन् भने सम्पादन स्वयं निर्देशक वीरेन्द्र भाटले गरेका छन् । वर्ल्डकभर मिडियाको पोष्ट–प्रोडक्सनमा निर्माण भएको भिडियो बिआर प्रोडक्सनमार्फत सार्वजनिक गरिएको हो।
देशको वर्तमान सामाजिक–राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै तयार गरिएको ‘अन्धकार पन्छाएर’लाई एक सशक्त राष्ट्रिय जागरण गीतका रूपमा लिइएको छ। फुटेर होइन, जुटेर अघि बढ्नुपर्ने सन्देश बोकेको गीतले युवालाई देश निर्माणमा लाग्न आह्वान गरेको डा. रिजाल बताउछन्। परिवर्तन, एकता र राष्ट्रनिर्माणको पक्षमा उभिन गीतले प्रेरणा दिने उनको विश्वास छ।
डा. भोला रिजाल शब्द, संगीत र स्वर—तीनै क्षेत्रमा अब्बल प्रतिभाका रूपमा परिचित छन् । उनले रचना गरेको पहिलो रेकर्डेड गीत विसं २०२० सालमा ‘म मान्दिनँ जात र धर्म कसैको’ हो भने २०२६ सालमा रेकर्ड भएको ‘मेरो पौवा पाटी’ उनको स्वरको पहिलो रेकर्डेड गीत हो। यी गीतहरू उहाँको सांगीतिक यात्राका महत्वपूर्ण दस्तावेज मानिन्छन्।
विसं २००४ साल कात्तिक १४ गते धरानमा जन्मिएका डा. रिजाल सानैदेखि साहित्य, सामाजिक सेवा, कला र खेलकुदमा सक्रिय रहँदै आएका छन् । हालसम्म उनले ३५ सयभन्दा बढी गीत लेखिसकेका छन् भने ३०० भन्दा बढी गीतमा स्वर दिएका छन्। झण्डै छ दशक लामो गीति लेखन यात्रामा उनका १३ वटा गीति एल्बम प्रकाशित भइसकेका छन्।
पेशाले चिकित्सक भए पनि साहित्य र संगीत सिर्जनामा निरन्तर सक्रिय रहेका डा. रिजालले ‘लक्ष्मी पूजा’, ‘छोरी बुहारी’, ‘जूनतारा’, ‘साथी’, ‘एक नम्बरको पाखे’, ‘अप्सरा’, ‘उकाली–ओराली’ र ‘गौँथली’ सहित आठवटा चलचित्र निर्माण गर्नुका साथै कथा र गीत लेखन पनि गरेका छन्। गीति चलचित्र ‘गौँथली’ महिला अधिकार र छोरी शिक्षाको सन्देश बोकेको कृति हो।
‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेऊ न’, ‘निधारमा रातो माटो शिरमा टोपी राखें’, ‘भागेर भए पनि आऊ’ जस्ता दर्जनौँ लोकप्रिय गीतका सर्जक डा. रिजाल यतिबेला पनि गीत लेखन तथा जीवनी लेखनमा सक्रिय रहेका छन्।
प्रतिक्रिया