वीरगन्ज भन्सारको सुक्खा बन्दरगाहमा रेल्वे र्‍याकमार्फत सामान आयात घट्यो

बुधबार, २८ माघ २०८२, १४ : १९

काठमाडौं- वीरगन्ज भन्सार कार्यालयमातहतको सुक्खा बन्दरगाहमा चालु आर्थिक वर्षको ६ महिनामा ५७२ रेल्वे र्‍याकमार्फत मालवस्तु तथा सामान भित्रिएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगन्जका कार्यालय प्रमुख कमल ज्ञवालीका अनुसार भारतीय रेल्वे सेवामा देखापरेको ‘हल्टेज’को समस्याका कारणले चालु आवमा रेल्वे र्‍याक आउने क्रममा केही गिरावट आएको छ । 

गत आवको छ महिनाको तुलनामा चालु आवको ६ महिनामा १६ कम रेल्वे र्‍याकमार्फत वस्तु तथा सामान भित्रिएका छन् । गत आवको ६ महिनामा भने ५८८ रेल्वे र्‍याकमार्फत वस्तु तथा सामान भित्रिएको थियो । वीरगन्जको सुुक्खा बन्दरगाहमा भारतको कोलकाता र हल्दिया पोर्ट र विशाखापटनमलगायतका बन्दरगाहबाट रेलमार्फत मालसमान ल्याउने गरिन्छ । 

एकपटकमा रेल्वे र्‍याकमार्फत ४० फुट क्षमताका ४५ कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ भने २० फुट क्षमताको भने ९० वटा कन्टेनरमा मालवस्तु ल्याउन सकिन्छ । नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगन्जका कार्यालय प्रमुख कमल ज्ञवालीले गत आवको ६ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रेल्वेर्‍याकमार्फत हुने आयातमा १६ वटा रेल्वे र्‍याकमार्फत कमी आएको बताए । 

चालु आवको साउनमा ९४ र्‍याक, भदौमा ९० र्‍याक, असोजमा १०१ र्‍याक, कात्तिकमा ९१ र्‍याक, मङ्सिरमा ९२ र्‍याक र पुस महिनामा १०४ रेल्वे र्‍याकमार्फत वस्तु तथा सामान ल्याइएको थियो । गत आवको साउनमा ९९ रेल्वे र्‍याक, भदौमा १०२ वटा, असोजमा ११० वटा, कात्तिकमा ७९ वटा, मङ्सिरमा ९० र पुसमा १०८ रेल्वे र्‍याकमार्फत वस्तु तथा सामान भित्राइएको थियो । 

बन्दरगाहबाट विशेषगरी स्पन्ज आइरन, रासायनिक मलखाद, जिप्सन तथा फलाम, कोइलालगायत सामान आयात गर्ने गरिन्छ । भन्सार कार्यालयमातहतको बन्दरगाह सञ्चालन र व्यवस्थापन गर्ने प्रिस्टिन भ्यालीका अपरेसन इन्चार्ज अभिषेक मिश्रले भारतीय रेल्वे प्रणालीमा विगत दुई महिनाअघि देखिएको समस्या अहिले विस्तारै कम हुँदै गइरहेको बताए । 

“केही महिनाअघिसम्म भारतको विहार राज्यमा निर्वाचन र चाडपर्वको कारणले पनि रेलसेवा केही प्रभावित भएको थियो,” उनले भने, “अहिले रेलसेवा केही सहज भइरहेको छ ।” 

कोलकाताबाट मालवाहक सामान बोकेको रेल्वे र्‍याक वीरगन्जसम्म आइपुग्न करिब आठ दिन लाग्ने र विशाखापटनमबाट भने करिब १० दिन लाग्ने उनले जानकारी दिए । 

 
 
बुधबार, २८ माघ २०८२, १४ : १९

प्रतिक्रिया