नेपालमा एम्पेयरको नयाँ आधिकारिक बिक्रेतामा एसटीसी अटो सोलुसन नियुक्त

बुधबार, ०६ फागुन २०८२, १२ : १६

काठमाडौं- भारतीय इलेक्ट्रीक स्कुटर ब्रान्ड एम्पेयरले एसटीसी अटो सोलुसन प्रालिलाई नेपालको आधिकारिक बिक्रेतामा नियूक्त गरेको छ। एसटीसी ग्रुप अन्तर्गतको एसटीसी अटो सोलुसन प्रालिले एम्पेयरका स्कुटरहरूको बिक्री–वितरण तथा सेवा सम्हाल्ने भएको हो।

यसअघि एम्पेयर ब्रान्डका स्कुटरहरू केडिया अर्गनाइजेशनमार्फत नेपाली बजारमा उपलब्ध हुँदै आएका थिए। नयाँ डिलर नियुक्तिसँगै कम्पनीले बजार विस्तार रणनीतिलाई तीव्रता दिने संकेत गरेको छ।

भारतीय कम्पनी ग्रेभ्स अन्तर्गत उत्पादन हुने एम्पेयर ब्रान्डका स्कुटरहरू दैनिक प्रयोगका लागि किफायती र व्यवहारिक विकल्पका रूपमा चिनिन्छन्। हाल यसको लाइनअपमा नेक्सस र म्याग्नस जस्ता लोकप्रिय मोडेल उपलब्ध छन्, जसले शहरी यात्रुहरूलाई लक्षित गर्छन्।

नयाँ आधिकारिक बिक्रेता एसटीसी अटो सोलुसनले काठमाडौंको रविभवनमा शोरुम सञ्चालनमा ल्याइसकेको छ। कम्पनीले देशका प्रमुख सहरहरूमा डिलर नेटवर्क विस्तार गर्ने तयारी गरेको जनाएको छ। बिक्री सञ्जालसँगै सर्भिस सेन्टर र स्पेयर पार्ट्सको सहज उपलब्धतामा समेत जोड दिइने बताइएको छ।

एसटीसी ग्रुप नेपालमा सीएट टायरको आधिकारिक वितरकका रूपमा चिनिन्छ भने लिथियम–आयन ब्याट्री उत्पादन तथा बिक्रीमा समेत सक्रिय छ। एम्पेयरको डिलरशिप पाएसँगै समूहले विद्युतीय दुईपांग्रे सवारी क्षेत्रमा आफ्नो उपस्थिति अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

 
बुधबार, ०६ फागुन २०८२, १२ : १६

प्रतिक्रिया