बबिना र बलदेवको राष्ट्रभावले ओतप्रोत गीत ‘देश हो बगैंचा’ सार्वजनिक (भिडियो)

शनिबार, १६ फागुन २०८२, १३ : ४३

काठमाडौं- राष्ट्रप्रेम, एकता र सामूहिक जिम्मेवारीको भाव बोकेको गीत ‘देश हो बगैंचा’ सार्वजनिक गरिएको छ।

गीतले नेपाललाई एउटा सुन्दर बगैंचासँग तुलना गर्दै हरेक नेपालीलाई त्यसको ‘माली’ अर्थात् जिम्मेवार संरक्षकका रूपमा चित्रण गरेको छ। देशप्रेम केवल नारामा सीमित नहुने, बरु श्रम, समर्पण र सकारात्मक कर्मबाट राष्ट्र निर्माण सम्भव हुने सन्देश गीतले प्रवाह गरेको छ। “देश हो बगैंचा, हामी सबै हौं माली” भन्ने स्थायी हरफले नागरिक कर्तव्यलाई काव्यात्मक तरिकाले उजागर गरेको छ। गीतका शब्द गीतकार बलदेव थापा ले लेखेका हुन् भने स्वर तथा संगीत बबिना भट्टराई को रहेको छ।

भावपूर्ण प्रस्तुति र सशक्त संगीत संयोजनले गीतलाई विशेष उचाइ दिएको छ। स्वरमा प्रेक्षा लम्साल, ममता गुरुङ, केशव बादी, ऐ.जे अजु र निर्मल दियालीले साथ दिएका छन्। सामूहिक स्वरको प्रयोगले गीतमा एकता र सहकार्यको भावना अझ बलियो बनाएको छ। गीतको एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका हुन्। ड्रिम्स स्टुडियोमा प्रकाश के.सी.ले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेका कारण ध्वनि गुणस्तर सन्तुलित र प्रभावशाली बनेको छ।

भिडियोमा प्रेम खनाल, बबिना भट्टराई, प्रेक्षा लम्साल, ममता गुरुङ, केशव बादी, ऐ.जे अजु र निर्मल दियालीको अभिनय देख्न सकिन्छ। साथै गीतकार बलदेव थापा, हरिराम पौडेल, रामेश्वर के.सी., आशिष खतिवडा र लक्ष्मी खरेलले राष्ट्रिय झण्डा फहराउँदै प्रस्तुत गरिएको दृश्यले राष्ट्रप्रेमको सन्देशलाई दृश्यात्मक रूपमा बलियो बनाएको छ। गीत इमेज एफ.एम. ९७.९ मा हरिराम पौडेलले सञ्चालन गर्ने ‘मेचीदेखि महाकालीसम्म’ कार्यक्रममा प्रत्यक्ष प्रशारणमार्फत सार्वजनिक गरिएको थियो।

कार्यक्रममा गीतकार बलदेव थापा र गायिका बबिना भट्टराईले गीतको सन्देश र निर्माण प्रक्रियाबारे धारणा राखेका थिए। श्रोताहरूले फोनमार्फत सकारात्मक प्रतिक्रिया दिएका थिए। गीतमा नेपालको प्राकृतिक वैभव, हिमाल–पहाड–तराईको विविधता र सांस्कृतिक सहअस्तित्वलाई मार्मिक रूपमा चित्रण गरिएको छ। विशेषतः सगरमाथा लाई “विश्वको शीर” का रूपमा उल्लेख गर्दै राष्ट्रिय गौरव र आत्मसम्मानको भाव अभिव्यक्त गरिएको छ।

गीतले आत्मआलोचना र चेतनाको आह्वान पनि गरेको छ-देश स्वर्गजस्तै भए पनि हामीले त्यसको मूल्य नबुझिरहेको सन्देश प्रस्तुत गर्दै सकारात्मक कर्ममार्फत राष्ट्रलाई समृद्ध बनाउन आग्रह गरेको छ।

 

 
शनिबार, १६ फागुन २०८२, १३ : ४३

प्रतिक्रिया