काठमाडौं- नेपाल बैंक लिमिटेड ले कर्जा उपभोग गरिरहेका आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै ब्याज छुटसहित कर्जा चुक्ता तथा नियमित गर्ने विशेष योजना सार्वजनिक गरेको छ ।
बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आर्थिक वर्ष २०७९-८० सम्म खराब कर्जा वर्गीकरणमा परेका तथा निष्क्रिय रहेका कर्जाहरूलाई लक्षित गरी यो योजना ल्याइएको हो। यसअन्तर्गत करिब १ करोड रुपैयाँसम्मका खराब तथा अप्रचलित कर्जा लिएका ग्राहकहरूले विशेष ब्याज छुट सुविधा प्राप्त गरी कर्जा चुक्ता गर्न सक्नेछन् ।
बैंकका अनुसार, आर्थिक वर्ष २०८३ असार मसान्तसम्म योजना लागू रहनेछ। यस अवधिमा सम्बन्धित ग्राहकहरूले तोकिएको शर्तअनुसार ब्याज छुटको सुविधा उपयोग गरी कर्जा नियमित वा चुक्ता गर्न सक्नेछन् ।
त्यस्तै, २०८० वैशाख १ गतेपछि निष्क्रिय वा सक्रिय अवस्थामा रहेका कर्जा ग्राहकहरूले पनि २०८२ चैत मसान्तभित्र कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुट सुविधा पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
बैंकले आफ्ना सबै सम्बन्धित ग्राहकहरूलाई नजिकको शाखा कार्यालयमा सम्पर्क गरी यस योजनाको लाभ लिन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया