काठमाडौं । नेपाली बजारमा लोकप्रिय इलेक्ट्रिक स्कुटर ब्रान्ड 'लुयान' (Luyuan) को नाम र आधिकारिक सामग्री दुरुपयोग गरी अनलाइन ठगी भइरहेको पाइएको छ। लुयान नेपालको आधिकारिक भिडियो तथा तस्बिरहरू प्रयोग गरेर नक्कली टिकटक आइडी बनाउने र सर्वसाधारणलाई सस्तो मूल्यको प्रलोभन देखाई ठगी गर्ने गिरोह सक्रिय भएपछि कम्पनीले कानुनी प्रक्रिया अगाडि बढाएको हो।
लुयान नेपालका तर्फबाट शंकर शर्माले नेपाल प्रहरीको साइबर ब्युरोलाई औपचारिक उजुरी दिँदै यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा एकाउन्टमाथि तत्काल छानबिन र कारबाही गर्न माग गरेका छन् ।
ठगी गर्ने गिरोहले लुयानका स्कुटरहरू बजार मूल्यभन्दा निकै कम मूल्यमा उपलब्ध गराउने दाबी गर्दै नक्कली विज्ञापन गरिरहेका छन्। उनीहरूले ग्राहकलाई विश्वासमा लिन 'एडभान्स पेमेन्ट' (अग्रिम भुक्तानी) समेत माग्ने गरेको र यसबाट धेरै व्यक्तिहरू ठगीको जोखिममा परेको कम्पनीले जनाएको छ।
लुयान नेपालले ती नक्कली एकाउन्टहरूसँग कम्पनीको कुनै पनि सम्बन्ध नरहेको स्पष्ट पारेको छ। कम्पनीको साख गिराउने र सर्वसाधारणको पैसा असुरक्षित बनाउने यस्ता कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै शंकास्पद लिङ्क वा विज्ञापनको भर नपर्न कम्पनीले सबैमा अनुरोध गरेको छ।
कम्पनीले आफ्ना ग्राहकहरूलाई आधिकारिक शोरुम वा आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत मात्र जानकारी लिन र कारोबार गर्न समेत सचेत गराएको छ।
प्रतिक्रिया