१० अर्बमा विस्तार भयो “एनआईबिएल सहभागिता फण्ड”

शुक्रबार, २७ चैत्र २०८२, ११ : ५५

काठमाडौं- नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेड ले सञ्चालन गर्दै आएको “एनआईबिएल सहभागिता फण्ड” को आकार वृद्धि गरिएको छ।

नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि उक्त खुलामुखी म्युचुअल फण्डको आकार रु. ६ अर्बबाट बढाएर रु. १० अर्ब ( १ अर्ब इकाई ) पुर्‍याइएको हो। यससँगै यो फण्ड नेपालकै सबैभन्दा ठूलो म्युचुअल फण्डका रूपमा स्थापित भएको छ।

“एनआईबिएल सहभागिता फण्ड” नेपालकै पहिलो खुलामुखी म्युचुअल फण्ड हो, जुन सामूहिक लगानी कोष नियमावली, २०६७ अन्तर्गत दर्ता भई २०७६ असार २४ गतेबाट सञ्चालनमा आएको थियो। यस फण्डले इक्विटी, डिबेन्चर, फिक्स्ड डिपोजिट, ट्रेजरी बिल लगायतका उपकरणमा लगानी गर्दै स्थिर प्रतिफल दिने लक्ष्य राखेको छ।

खुलामुखी प्रकृतिका कारण यो फण्ड नेपाल स्टक एक्सचेन्ज मा सूचीकृत छैन। लगानीकर्ताहरूले भने सिधै योजना व्यवस्थापक मार्फत इकाई खरिद–बिक्री गर्न सक्छन्।

यसअघि बीज पुँजीसम्बन्धी प्रावधानका कारण लामो समयदेखि लगानीकर्ताका इकाईहरू डिम्याट खातामा जम्मा हुन सकेका थिएनन्। तर, नेपाल धितोपत्र बोर्डले २०८२/१०/०२ मा जारी गरेको निर्देशिका अनुसार योजनाको आकार वृद्धि गरेपछि उक्त समस्या समाधान गरिएको कम्पनीले जनाएको छ।

अब फण्डका सबै इकाईधनीहरूको इकाईहरू हितग्राही ( Demat ) खातामा जम्मा भइसकेको र लगानीकर्ताहरूले आफ्नो ‘मेरो सेयर’ मार्फत विवरण हेर्न सक्ने व्यवस्था गरिएको छ।

कम्पनीले इकाई क्रेडिट गर्न ढिलाइ भएकोमा क्षमायाचना गर्दै लगानीकर्ताको धैर्यता र निरन्तर समर्थनप्रति आभार व्यक्त गरेको छ।

हाल नेपालमा ४३ वटा बन्दमुखी र १३ वटा खुलामुखी म्युचुअल फण्ड सञ्चालनमा रहेका छन्।

 
शुक्रबार, २७ चैत्र २०८२, ११ : ५५

प्रतिक्रिया