काठमाडौं- नेपालमा स्मार्टफोन आयातमा उल्लेखनीय वृद्धि देखिएको छ। चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो नौ महिनामै साढे ३३ अर्ब रुपैयाँभन्दा बढीका स्मार्टफोन भित्रिएका छन्, जसले नेपाली बजारमा डिजिटल उपकरणप्रतिको बढ्दो आकर्षणलाई स्पष्ट रूपमा संकेत गर्छ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैत मसान्तसम्मको अवधिमा कुल ३३ अर्ब ८२ करोड २५ लाख रुपैयाँ बराबरका स्मार्टफोन आयात भएका छन्। यस अवधिमा १६ लाख ७४ हजार थान स्मार्टफोन नेपाल भित्रिएका छन्, जुन संख्या र मूल्य दुवैका हिसाबले उल्लेखनीय हो।
गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा यस वर्ष स्मार्टफोन आयातमा स्पष्ट वृद्धि देखिएको छ। अघिल्लो वर्ष चैत मसान्तसम्म २५ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ बराबरका स्मार्टफोन आयात भएका थिए भने १५ लाख ८४ हजार थान मोबाइल सेट नेपाल भित्रिएका थिए। यस आधारमा हेर्दा चालु वर्षमा करिब ९० हजार थानले स्मार्टफोनको संख्या बढेको छ भने मूल्यतर्फ झण्डै साढे ८ अर्ब रुपैयाँले वृद्धि भएको देखिन्छ।
तथ्यांकले नेपाली बजारमा महँगा तथा अत्याधुनिक स्मार्टफोनप्रतिको माग क्रमशः बढ्दै गएको संकेत गर्दछ। उपभोक्ताहरूमा नयाँ प्रविधि, उच्च क्षमताका क्यामेरा, द्रुत प्रोसेसर तथा आकर्षक डिजाइन भएका मोबाइल सेटप्रति रुचि बढ्दै गएको देखिन्छ।
प्रतिक्रिया