याङ्गो राइडको च्याट जीपीटी एकीकरण, २५ भन्दा बढी देशमा इनच्याट यात्रा योजना सुविधा सुरु

विहीबार, १० बैशाख २०८३, १७ : १९

काठमाडौँ- ग्लोबल टेक कम्पनी याङ्गो ग्रुपअन्तर्गतको राइड–हेलिङ सेवा याङ्गो राइडले च्याट जीपीटी भित्रै यात्रा योजना र राइड बुकिङ गर्न सकिने नयाँ सुविधा सार्वजनिक गरेको छ । 

यो अपडेट कम्पनीले सञ्चालन गर्ने २५ भन्दा बढी देशहरूमा विस्तार गरिएको छ, जसले मध्यपूर्व, दक्षिण एशिया, अफ्रिका तथा ल्याटिन अमेरिकासम्मका प्रयोगकर्तालाई समेट्छ ।

नयाँ एकीकरणमार्फत प्रयोगकर्ताले च्याट जीपीटी कै कुराकानी भित्रै आफ्नो गन्तव्यको यात्रा योजना बनाउन सक्नेछन् । यसमा निश्चित रुटको स्पष्ट मूल्य (कुनै लुकेका शुल्क बिना), वैकल्पिक रुटहरूको तुलना, यात्रा समय तथा गाडी आइपुग्ने अनुमानित समय जस्ता जानकारी प्राप्त गर्न सकिन्छ । साथै, प्रतीक्षा समय घटाउन उपयुक्त पिकअप स्थान छनोट गर्न पनि प्रणालीले सहयोग गर्छ ।

यात्रा योजना तय भएपछि प्रयोगकर्ताले अनुमानित भाडा याङ्गो एप वा वेब प्लेटफर्ममार्फत हेरेर सुरक्षित रूपमा बुकिङ प्रक्रिया पूरा गर्न सक्नेछन् । यो सुविधा विशेषगरी बारम्बार यात्रा गर्ने, पर्यटक तथा व्यवसायिक प्रयोगकर्ताका लागि उपयोगी हुने कम्पनीले जनाएको छ । 

च्याट जीपीटी भित्रै राइड–हेलिङ सुविधा समावेश भएपछि प्रयोगकर्ताले विभिन्न एपहरू परिवर्तन नगरी सजिलै आफ्नो दैनिक यात्रा व्यवस्थापन गर्न सक्नेछन् । याङ्गो राइडले यो प्रणाली वास्तविक समयको ट्राफिक डेटा र स्मार्ट रुटिङ प्रविधिमा आधारित रहेको बताएको छ, जसले सडक अवस्थाअनुसार यात्राको समय र लागतलाई निरन्तर अद्यावधिक गर्छ ।

कम्पनीले भविष्यमा च्याट जीपीटी एकीकरणलाई अझ विस्तार गर्दै डेलिभरी, सार्वजनिक यातायात तथा फूड डेलिभरी जस्ता सेवाहरू समेत समावेश गर्ने योजना बनाएको छ ।
 

 
विहीबार, १० बैशाख २०८३, १७ : १९

प्रतिक्रिया