काठमाडौँ- खस क्षेत्री समुदायको एकता, संगठन सुदृढीकरण र राष्ट्रिय भूमिकालाई अझ प्रभावकारी बनाउने लक्ष्यसहित “संयुक्त खस क्षेत्री नेपाल” को चौथो राष्ट्रिय महाधिवेशन आज आयोजना हुँदैछ । महाधिवेशनमा देशभरबाट प्रतिनिधि, अगुवा तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहने आयोजकले जनाएको छ ।
महाधिवेशनको प्रमुख आकर्षणका रूपमा अध्यक्ष पदका उम्मेदवार अर्जुनबहादुर अधिकारीले आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् । उक्त प्रतिबद्धता–पत्रमा नेपालको एकीकरण, स्थायित्व, राष्ट्रिय एकता तथा भाषा, संस्कृति र परम्पराको संरक्षणमा खस क्षेत्री समुदायको ऐतिहासिक भूमिकालाई थप सुदृढ बनाउने उल्लेख गरिएको छ ।

उम्मेदवार अधिकारीले राष्ट्रप्रतिको दायित्वलाई प्राथमिकतामा राख्दै “केवल भाषण होइन, काम गरेर देखाउने” प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सबै नेपालीलाई साझा घरको रूपमा देशलाई स्वीकार गर्दै एकता, शान्ति र सहअस्तित्वको भावनालाई बलियो बनाउने प्रतिबद्धता जनाएका छन् ।
प्रतिबद्धता–पत्रमा सामाजिक न्याय, समान अवसर, सांस्कृतिक संरक्षण तथा ऐतिहासिक विरासतको जगेर्ना गर्दै आगामी पुस्तालाई मार्गदर्शन गर्ने विषयहरूलाई प्राथमिकता दिइएको छ । साथै, देश तथा विदेशमा रहेका खस क्षेत्री समुदायलाई एक सूत्रमा बाँध्ने लक्ष्य पनि उल्लेख गरिएको छ ।
महाधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्नुका साथै संगठनको भावी रणनीति तय गर्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार, यस कार्यक्रमले खस क्षेत्री समुदायभित्र मात्र नभई समग्र राष्ट्रिय एकता र सहकार्यलाई पनि नयाँ उचाइ दिने विश्वास लिइएको छ ।
महाधिवेशन सफल पार्न देशभरका सदस्य तथा समर्थकलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ ।
प्रतिक्रिया