काठमाडौं- उद्योगी व्यवसायीमाथि गरिएको धरपकड र थुनछेकको घटनाले निजी क्षेत्र निरुत्साहित बनेको भन्दै तीन प्रमुख छाता संगठनले सरकारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श ले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन्। बिहीबार उद्योगी शेखर खोल्छा पक्राउ परेपछि निजी क्षेत्रले सामूहिक प्रतिक्रिया दिएको हो।
विज्ञप्तिमा नयाँ सरकार गठनसँगै मुलुकमा स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिएकै बेला उद्यमी व्यवसायीमाथि धरपकड हुँदा निजी क्षेत्र हतोत्साहित भएको उल्लेख छ।
छाता संगठनका अनुसार अर्थतन्त्रमा करिब ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्याउने निजी क्षेत्र त्रसित बन्नु गम्भीर विषय हो। यसले अर्थतन्त्र, रोजगारी, राजश्व संकलन तथा पूर्वाधार विकासमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिइएको छ।
उनीहरूले नियामक निकायका प्रतिवेदनकै आधारमा उद्योगीलाई पक्राउ गर्नु उचित नभएको उल्लेख गर्दै आर्थिक कसुरका मामिलामा ‘पहिले सुन्ने, प्रमाणित भएपछि मात्र कारबाही गर्ने’ अभ्यास अपनाउन सरकारसँग आग्रह गरेका छन्।
साथै, अनुसन्धानमा सहयोग गर्न आफूहरू तयार हुँदाहुँदै पनि पक्राउ गरिनु चिन्ताजनक रहेको जनाउँदै यस्तो प्रवृत्तिले समग्र निजी क्षेत्रलाई त्रसित र निराश बनाएको बताएका छन्।
उद्यमीमाथि यसरी गरिने कारबाहीले व्यक्तिमात्र नभई लाखौं रोजगारी, आपूर्ति श्रृङ्खला, बैंकिङ प्रणाली र समग्र अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ।
प्रतिक्रिया