६ महिनाभित्र १ लाख ७६ हजार लाइसेन्स वितरण गर्ने तयारी

शुक्रबार, ११ बैशाख २०८३, १४ : ०८

काठमाडौं–  यातायात व्यवस्था कार्यालय राधेराधे ले थन्किएका सवारी अनुमतिपत्र ९लाइसेन्स० वितरणलाई तीव्र बनाउने योजना सार्वजनिक गरेको छ। कार्यालयले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका गरी १ लाख ७६ हजार २५० लाइसेन्स आगामी ६ महिनाभित्र वितरण गर्ने लक्ष्य लिएको हो।

कार्यालयका सूचना अधिकारी जीवन बस्नेत का अनुसार मङ्गलबारदेखि सन् २०२२ देखि २०२४ सम्मका सबै तथा २०२५ का केही लाइसेन्स वितरण सुरु गरिएको छ। वितरण सुरु भएको तीन दिनमै करिब ३ हजार लाइसेन्स सेवाग्राहीलाई उपलब्ध गराइसकिएको उनले जानकारी दिए।

हाल दैनिक आठ जना कर्मचारी बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खटिँदा पनि एक हजारभन्दा बढी लाइसेन्स वितरण गर्न कठिन भइरहेको छ। यही दर कायम रहेमा सबै लाइसेन्स वितरण गर्न झन्डै ६ महिना लाग्ने अनुमान कार्यालयको छ।

अहिलेसम्म ठूलो संख्यामा लाइसेन्स छपाइ भएर आउन बाँकी रहेकाले प्रक्रिया केही समय लम्बिन सक्ने देखिएको छ। यद्यपि वितरण कार्यलाई निरन्तरता दिइएको कार्यालयले जनाएको छ।

कार्यालयले सेवाग्राहीलाई अनावश्यक भीड नगर्न आग्रह गरेको छ। लाइसेन्सको बिल तथा मोबाइल एपमार्फत पनि अस्थायी रूपमा सवारी चलाउन सकिने भएकाले हतार नगरी पालैपालो लिन आउन अनुरोध गरिएको छ।

लामो समयदेखि लाइसेन्सको प्रतीक्षामा रहेका सेवाग्राही वितरण सुरु भएसँगै कार्यालय पुग्न थालेका छन्। बिहानैदेखि भीड लाग्न थालेपछि कार्यालयले निर्धारित समयमै सेवा प्रवाहलाई व्यवस्थित बनाउँदै आएको जनाएको छ।

नवीकरणका लागि आवेदन दिएका तथा लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीहरू हालसम्म रसिदकै आधारमा सवारी सञ्चालन गर्दै आएका थिए।

 
शुक्रबार, ११ बैशाख २०८३, १४ : ०८

प्रतिक्रिया