नेपाल टेक रोडशो यूएसए २०२६ मार्फत नेपालको आईटी क्षेत्र अमेरिकी बजारसँग जोडिने

सोमबार, १४ बैशाख २०८३, १३ : १६

काठमाडौँ- नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (NAS-IT) ले आगामी मे १५, २०२६ मा अमेरिकाको टेक्सास राज्यको ग्रेपभाइनस्थित  Embassy Suites by Hilton मा आयोजना हुने “नेपाल टेक रोडशो यूएसए २०२६” को घोषणा गरेको छ ।

नेपालको प्रविधि क्षेत्रको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस रोडशोमार्फत नेपालको आईटी क्षमतालाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्नुका साथै अमेरिकी कम्पनीहरू, लगानीकर्ता तथा गैरआवासीय नेपाली समुदायसँग अर्थपूर्ण व्यावसायिक सम्बन्ध स्थापना गर्ने लक्ष्य राखिएको छ । 

यस पहलले नेपाललाई सफ्टवेयर विकास, कृत्रिम बौद्धिकता (AI), डाटा तथा डिजिटल रूपान्तरण सेवाका लागि भरपर्दो र प्रतिस्पर्धी गन्तव्य का रूपमा स्थापित गर्न सहयोग पु¥याउने विश्वास लिइएको छ ।

यसअघि भएका अन्तर्राष्ट्रिय पहलहरूको सफलतापछि आयोजना हुन लागेको नेपाल टेक रोडशो यूएसए २०२६ नेपाली आईटी कम्पनीहरूलाई अमेरिकी बजारसँग प्रत्यक्ष रूपमा जोड्ने लक्ष्यसहित अघि बढाइएको हो । यस कार्यक्रममार्फत नेपालको प्रविधि क्षमता प्रदर्शन, दीर्घकालीन साझेदारी विकास तथा विश्वकै प्रमुख प्रविधि बजारमध्ये एकमा नेपाली कम्पनीहरूको अवसर विस्तार हुने अपेक्षा गरिएको छ ।

NAS-IT का संस्थापक अध्यक्ष तथा कार्यकारी बोर्ड सदस्य रिचन श्रेष्ठ ले भने, “विश्वले भर्खरै मात्र नेपालको प्रविधि उद्योगको वास्तविक क्षमता बुझ्न थालेको छ । हामीसँग विश्वव्यापी व्यवसायहरूका लागि दीर्घकालीन प्रविधि साझेदार बन्न सक्ने प्रतिभा, विश्वसनीय सेवा प्रदान गरेको अनुभव तथा ठूलो महत्वाकांक्षा छ ।  आगामी मे ८ मा सान फ्रान्सिस्को र मे १५ मा डलासमा आयोजना हुने नेपाल टेक रोडशो यूएसए २०२६ नेपालको प्रविधि उद्योगलाई विश्वमञ्चमा स्थापित गर्ने NAS-ITको प्रतिबद्धता हो । यो यस इकोसिस्टम निर्माणमा योगदान पु¥याउने प्रत्येक नेपाली उद्यमी, इन्जिनियर तथा नवप्रवर्तकका लागि गर्वको क्षण पनि हो । ” 

मुख्य कार्यक्रमअघि, मे ८, २०२६ मा अमेरिकाको सान फ्रान्सिस्को मा “नेपाल टेक कनेक्ट – सान फ्रान्सिस्को” आयोजना गरिनेछ । उक्त कार्यक्रम बे एरिया क्षेत्रमा रहेका व्यवसायी, उद्यमी, लगानीकर्ता तथा नेपाली पेशाकर्मीहरूसँग नेटवर्किङ तथा छलफलका लागि केन्द्रित हुनेछ ।”

यस कार्यक्रममा नेपालिज अमेरिकन चेम्बर अफ कमर्स (NACOC) आधिकारिक स्थानीय साझेदारका रूपमा तथा अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (AmCham Nepal) सहकार्य साझेदारका रूपमा सहभागी रहेका छन् । यस पहललाई डेक्सपट्र्स इंक (Dexperts Inc.) ले शीर्षक प्रायोजक, फोकस हेल्थ (Focus Health) ले प्रायोजक तथा फ्युजमेसिन्स (Fusemachines) ले सहयोगी प्रायोजकका रूपमा साथ दिएका छन् ।

Logo

यस रोडशोमा नेपालका अग्रणी आईटी कम्पनीहरू तथा प्रतिनिधिहरूको सहभागिता रहनेछ । सहभागी कम्पनीहरूमा बज्रा टेक्नोलोजिज (Bajra Technologies)का गौरव पाण्डे, बिज सर्भ आइटी (Biz Serve IT) का अभय पौडेल, सिटीटेक ग्रुप (Citytech Group) का साजन शर्मा, कोड पिक्सेल्ज मिडिया (Code Pixelz Media) का धनञ्जय पौडेल, ज्यास्पर आइटी (Jasper IT) का सागर केसी, लीपफ्रग टेक्नोलोजी नेपाल (Leapfrog Technology Nepal) का कैलाश बिजयानन्द, क्विकफक्स टेक्नोलोजिज (Quickfox Technologies) का रिचन श्रेष्ठ, रारा ल्याब्स (RARA Labs) का मनोज घिमिरे तथा टेकक्राफ्ट इंक (Techkraft Inc) का अनिश श्रेष्ठ र पवन कृष्ण श्रेष्ठ रहनुहुनेछ ।

नेपाल टेक रोडशो यूएसए २०२६ का प्रमुख आकर्षणहरूमा नेपाली आईटी कम्पनीहरूले आफ्ना सेवा, समाधान तथा क्षमता अमेरिकी सरोकारवालाहरू समक्ष प्रस्तुत गर्ने कम्पनी शोकेस, अमेरिकी व्यवसाय, स्टार्टअप तथा लगानीकर्ताहरूसँग हुने B2B मिटिङ तथा नेटवर्किङ, नेपालको आईटी क्षेत्र, ग्लोबल डेलिभरी क्षमता तथा सहकार्यका अवसरबारे हुने उद्योगसम्बन्धी प्रस्तुति, तथा अमेरिकामा रहेका नेपाली पेशाकर्मीहरूसँग साझेदारी, मार्गदर्शन तथा बजार प्रवेशका सम्भावनाबारे हुने डायस्पोरा एंगेजमेन्ट समावेश छन् ।

कार्यक्रममा रिचन श्रेष्ठ (क्विकफक्स टेक्नोलोजिज), हिमाल कर्माचार्य (लीपफ्रग टेक्नोलोजी), अभय पौडेल (बिज सर्भ आइटी), शंकर उप्रेती (हाम्रो पात्रो इंक) तथा कैलाश बिजयानन्द (अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल) लगायतका उद्योग विज्ञहरूको विशेष प्रस्तुति रहनेछ । साथै धनञ्जय पौडेल (कोड पिक्सेल्ज मिडिया ) तथा गौरव पाण्डे (बज्रा टेक्नोलोजिज) ले क्रमशः स्वागत तथा समापन मन्तव्य दिनुहुनेछ। उहाँहरूले नेपालको सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रको अवस्था, नेपालबाट विश्वस्तरीय टेक तथा प्रोडक्ट कम्पनी निर्माणको यात्रा, नेपालमा व्यवसाय सञ्चालनको सहजता तथा अमेरिका–नेपाल व्यापार सहकार्यका अवसरबारे आफ्ना विचार राख्नुहुनेछ ।

NAS-IT बारे

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (NAS-IT) नेपालको आईटी क्षेत्रको अग्रणी गैरनाफामूलक छाता संस्था हो।

NAS-IT ले नवप्रवर्तन प्रवद्र्धन, बजारसँगको सम्बन्ध सुदृढीकरण तथा नेपाललाई विश्वव्यापी प्रविधि केन्द्रका रूपमा स्थापित गर्न निरन्तर कार्य गर्दै आएको छ ।
 

 
सोमबार, १४ बैशाख २०८३, १३ : १६

प्रतिक्रिया