११० डलर नाघ्यो तेलको मूल्य

मंगलबार, १५ बैशाख २०८३, १४ : ३१

काठमाडौं- अमेरिका र इरानबीच जारी युद्ध अन्त्य हुने कुनै ठोस संकेत नदेखिएपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भएको छ । ‘होर्मुज जलसन्धि’ अझै पनि लगभग ठप्प रहेका कारण मध्यपूर्वबाट हुने तेल आपूर्तिमा अवरोध पुग्दा मंगलबार तेलको भाउ २ प्रतिशतभन्दा बढीले बढेको हो।

मंगलबार ब्रेन्ट क्रुडको मूल्य २.४ प्रतिशतले वृद्धि भई प्रति ब्यारेल ११०.८२ अमेरिकी डलर पुगेको छ। यो लगातार सातौँ दिनको वृद्धि हो। यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट पनि २.१ प्रतिशतले बढेर प्रति ब्यारेल ९८.४० डलर पुगेको छ।

राष्ट्रपति ट्रम्पको यो असन्तुष्टिले कुटनीतिक प्रयासलाई थप अन्यौलमा धकेलिदिएको छ। हाल इरानले होर्मुज जलसन्धिबाट हुने ढुवानी रोकेको छ भने अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी जारी राखेको छ। विश्वको कुल तेल र ग्यास खपतको करिब २० प्रतिशत हिस्सा यही जलसन्धि भएर ओसारपसार हुने गर्दछ।

अमेरिकी अधिकारीहरूका अनुसार, युद्ध अन्त्यका लागि इरानले अघि सारेको पछिल्लो प्रस्तावप्रति राष्ट्रपति डोनाल्ड ट्रम्पले असन्तुष्टि व्यक्त गरेका छन्। इरानी स्रोतहरूले जनाए अनुसार तेहरानको प्रस्तावमा युद्धविराम नभएसम्म र खाडी क्षेत्रको ढुवानी विवाद समाधान नभएसम्म आफ्नो आणविक कार्यक्रमबारे कुनै पनि छलफल नगर्ने अडान राखिएको छ।

गत हप्ता अमेरिका र इरानबीचको प्रत्यक्ष वार्ता विफल भएपछि स्थिति झनै तनावपूर्ण बनेको छ। बजार विश्लेषकहरूका अनुसार शान्तिका लागि भइरहेका प्रयासहरू हालसम्म केवल औपचारिकतामा मात्र सीमित देखिएका छन्।

 
मंगलबार, १५ बैशाख २०८३, १४ : ३१

प्रतिक्रिया