ताजा समाचार

समाचार

भन्सार विभागले लागु गर्यो एनएनएसडब्लू प्रणाली, म्यानुअल र ई-पेमेन्टबाट भुक्तानी गर्न सकिने

शुक्रबार, २५ बैशाख २०८३, ११ : ५७

काठमाडौं- भन्सार विभागले नेपाल नेशनल सिंगल विन्डो (एनएनएसडब्लु) प्रणालीमार्फत ट्रान्सपोर्ट इन्फर्मेसन भेरिफिकेसन (टीआईभी) घोषणा गर्न सकिने व्यवस्था लागू गरेको छ। विभागले सबै भन्सार कार्यालयलाई परिपत्र जारी गर्दै टीआईभीसम्बन्धी घोषणा अब एनएनएसडब्लु पोर्टलमार्फत पनि गर्न सकिने जानकारी दिएको हो।

विदेशबाट नेपाल आउने वा नेपालबाट बाहिर जाने सामान कुन गाडी/कन्टेनरमा आयो, कहाँबाट आयो, कति सामान छ, कसले ल्यायो, कुन भन्सार हुँदै जाने हो भन्ने ढुवानीसम्बन्धी विवरण भन्सारमा घोषणा गर्नुपर्छ। यही विवरणलाई डिजिटल रूपमा दर्ता र प्रमाणीकरण गर्ने प्रक्रिया नै टीआईभी हो।

अब भन्सार विभागले यो प्रक्रिया नेपाल नेशनल सिंगल विन्डो (एनएनएसडब्लु) प्रणालीमार्फत अनलाइनबाट गर्न सकिने बनाएको हो।

अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभाग, सूचना प्रविधि प्रणाली शासन तथा विकास शाखाले २०८३ वैशाख २३ गते जारी गरेको सूचनाअनुसार विभागको २०८३ वैशाख १७ गतेको निर्णयपछि टीआईभी डिक्लेरेशन पोर्टल सञ्चालनमा ल्याइएको जनाएको छ।

नयाँ व्यवस्थाअनुसार प्रयोगकर्ताले एनएनएसडब्लु पोर्टलमार्फत टीआईभी घोषणा गर्न सक्नेछन्। साथै, म्यानुअल तथा ई-पेमेन्ट दुवै माध्यमबाट शुल्क भुक्तानी गर्न सकिने व्यवस्था पनि गरिएको विभागले जनाएको छ। विभागले सबै भन्सार कार्यालय तथा मातहतका निकायलाई एनएनएसडव्लु पोर्टल प्रयोग गरी टीआईभी सम्बन्धी कार्य नियमित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ।

विभागले आफ्नो आधिकारिक वेबसाइट भन्सार विभागमा आइटिभी मोड्युलको लिंक थप गरिएको तथा क्युआर कोड स्क्यान गरेर पनि डिक्लेरेशन गर्न सकिने व्यवस्था रहेको जनाएको छ।

 
शुक्रबार, २५ बैशाख २०८३, ११ : ५७

प्रतिक्रिया