काठमाडौं- चालु आर्थिक वर्ष २०८२र८३ को १० महिना सकिन लाग्दा सरकारले कुल ११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । यो वार्षिक विनियोजित १९ खर्ब ६४ अर्ब बजेटको ५८.७५ प्रतिशत हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार सबैभन्दा बढी खर्च चालुतर्फ भएको छ । चालु खर्चका लागि छुट्याइएको ११ खर्ब ८० अर्बमध्ये ८ खर्ब ९ अर्ब रुपैयाँ खर्च भइसकेको छ, जुन ६८ प्रतिशतभन्दा बढी हो ।
तर पुँजीगत खर्च भने कमजोर देखिएको छ । सरकारले पूर्वाधार निर्माणका लागि छुट्याएको ४ खर्ब ७ अर्बमध्ये हालसम्म १ खर्ब ९ अर्ब रुपैयाँ मात्रै खर्च गर्न सकेको छ । यो कुल पुँजीगत बजेटको २६.८७ प्रतिशत मात्र हो ।
निर्माण सामग्री र बिटुमिन अभाव, मध्यपूर्व तनाव तथा सुस्त आयोजना कार्यान्वयनले पुँजीगत खर्च प्रभावित भएको बताइएको छ । यस्तै, वित्तीय व्यवस्थातर्फ छुट्याइएको ३ खर्ब ७५ अर्बमध्ये २ खर्ब ४० अर्ब रुपैयाँ खर्च भएको छ ।
राजस्व संकलन पनि लक्ष्यअनुसार हुन सकेको छैन । सरकारले १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखेकोमा हालसम्म ९ खर्ब ७० अर्ब रुपैयाँ मात्रै संकलन भएको छ ।
प्रतिक्रिया