सुन बजार

सुन आयातमा भारतले पुर्यायो १५ प्रतिशत भन्सार दर, नेपाली बजारमा कस्तो प्रभाव पर्ला ?

विहीबार, ३१ बैशाख २०८३, १७ : १९

काठमाडौं- दिनप्रतिदिन विश्वव्यापी रूपमा सुनको मूल्यमा वृद्धि भइरहँदा भारतले सुन आयातमा लाग्ने भन्सार दर ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको छ । त्यसको प्रभाव नेपालमा पनि देखिन सक्ने आकलन सुरु भएको छ ।

भारत विश्वकै ठूलो सुन उपभोक्ता मुलुकमध्ये एक भएकाले त्यहाँको नीतिगत परिवर्तनले दक्षिण एसियाली बजारमा प्रत्यक्ष असर पार्ने देखिएको छ । भारतमा भन्सार बढेपछि त्यहाँ सुनको मूल्य महँगो हुने भएकाले अवैध कारोबार बढ्ने जोखिम पनि त्यत्तिकै मात्रामा बढेको छ । यसको असर नेपालमा पनि पर्ने भएकोले सीमा सुरक्षामा सरकारको ध्यान जान आवश्यक रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष रामजी शाहका अनुसार भारतमा भन्सार १५ प्रतिशत पुगेपछि त्यहाँ सुनको मूल्य अझै बढ्छ । खुला सिमानाका कारण नेपाल हुँदै अवैध रूपमा सुन ओसारपसार बढ्ने जोखिम थपिएको छ ।

उनका अनुसार, “भारतमा कर धेरै हुँदा सुनको माग वैकल्पिक बाटोबाट पूरा गर्ने प्रयास बढ्ने सम्भावना हुन्छ । नेपालमा पनि बजार अस्थिर बन्न सक्छ । सरकारले भन्सार, निगरानी र बजार व्यवस्थापनमा समयमै ध्यान दिनुपर्छ ।” उनले भने, नेपालमा १० प्रतिशत भन्सार हुँदा भारतमा ६ प्रतिशत थियो, यसले नेपालमा उपभोक्ता र व्यवसायी दुवै मारमा थिए । अहिलेको समयमा भारतमा भन्सार दर वृद्धि भए पनि यहाँको भन्सार दर यथावत् नै हुनुपर्नेमा उनले जोड दिए । विश्व बजारमा सुनचाँदीको भाउ दिन प्रतिदिन बढी रहेको अवस्थामा सरकारले भन्सार दर वृद्धि गर्दा व्यवसाय नै धारासायी हुने प्रति उनले चिन्ता व्यक्त गरे ।  

अध्यक्ष शाहका अनुसार यस्तो अवस्थामा नेपालमा अवैध कारोबार नियन्त्रण मुख्य चुनौती बन्नेछ । “सुन कारोबार पारदर्शी बनाउन राज्यले नीति स्पष्ट बनाउनुपर्छ । अन्यथा वैध व्यवसायी नै मारमा पर्न सक्छन्,” उनले भने ।

नेपालमा भने यसको प्रभाव दुई प्रकारले देखिन सक्छ । पहिलो, भारतीय बजारमा मूल्य बढ्दा नेपालमा पनि सुनको मूल्य अप्रत्यक्ष रूपमा महँगिन सक्छ । दोस्रो, अवैध तस्करीको जोखिम बढ्न सक्छ । नेपाल–भारत खुला सीमाका कारण राज्यका निकायलाई निगरानीमा थप चुनौती हुने उनले आजको अर्थ सँग भने । 

नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष हेम बहादुर विश्वकर्माका अनुसार, भारतमा कर बढेकै आधारमा नेपालले पनि कर बढाउनु उपयुक्त नहुन सक्छ । नेपालको बजार, क्रय शक्ति र आर्थिक अवस्था फरक छ । कर बढाउँदा अवैध कारोबार झन् बढ्ने खतरा हुन्छ ।

सरकारले दुई पक्ष हेर्नुपर्ने हुन्छ, राजस्व संरक्षण र बजार सन्तुलन । यदि नेपालमा कर धेरै कम रह्यो भने भारततर्फ सुन तस्करी बढ्न सक्छ । तर अत्यधिक कर बढाउँदा वैध आयात घटेर अवैध कारोबार बढ्ने जोखिम पनि उत्तिकै हुन्छ । अहिले २ प्रतिशत विलासिता करको मारले व्यवसायीहरू थलिएको अवस्थामा भन्सार कर बढ्यो भने अधिकांश व्यवसायीहरू व्यवसायबाट विस्थापित हुने बताएका छन् । 

हाल नेपालमा सुन आयात कोटा, बैंकमार्फत आपूर्ति र भन्सार नीतिमार्फत नियमन हुँदै आएको छ । यस्तो अवस्थामा भारतको निर्णयपछि नेपालले पनि नीतिगत समीक्षा गर्न सक्ने देखिए पनि  व्यवसायमैत्री र व्यावहारिक नीति आवश्यक रहेको उनले आजको अर्थलाई बताए ।

त्यस्तै, नेपाल सुनचाँदी व्यवसायी रत्न तथा आभुषण महासंघका कोषाध्यक्ष गणेश प्रसाद लोकान्द्रीका अनुसार, भारतको निर्णयले नेपाली बजारमा मूल्य अस्थिरता निम्त्याउन सक्छ । “अन्तर्राष्ट्रिय बजारसँगै भारतीय बजारको प्रभाव नेपालमा सधैँ पर्छ । भारतमा कर बढेपछि त्यहाँको मूल्य र यहाँको मूल्यबिच अन्तर बढ्न सक्छ ।

छिमेकी मुलुकको नीतिले नेपाली बजारमा असर पार्ने भएकाले सरकारले समयमै अध्ययन गरेर रणनीति बनाउनुपर्छ । नत्र वैध बजार कमजोर र अवैध कारोबार बलियो बन्ने उनले आजको अर्थ सँगको कुराकानीमा बताए ।

भारतको निर्णयपछि दक्षिण एसियाली सुन बजारमा नयाँ तरंग देखिएको छ । नेपालले यसको प्रभावलाई अवसर र चुनौती दुवै रूपमा हेरेर नीतिगत तयारी गर्नुपर्ने देखिन्छ । भारतले सुनमा भन्सार दर १५ प्रतिशत पुर्याएपछि नेपालमा पनि कर तथा भन्सार दर पुनरावलोकन हुन सक्ने चर्चा सुरु भएको छ । यद्यपि सरकारले अहिलेसम्म औपचारिक निर्णय सार्वजनिक गरिसकेको छैन । 

त्यसैले सरकारले राजस्व संरक्षण र बजार नियन्त्रणका लागि भन्सार दर बढाउने सम्भावना रहेको छ । सुनचाँदीको कर बढाउँदा वैध बजार झन् प्रभावित हुने, अहिले सुनचाँदीको कारोबार सुस्त रहेको अवस्थामा थप कर बढे उपभोक्ता र व्यवसायी दुवै मारमा पर्न सक्छन् ।

 
 
 
विहीबार, ३१ बैशाख २०८३, १७ : १९

प्रतिक्रिया