काठमाडौं- नेपाल उद्योग व्यापार महासंघ ले बजारमा लागू गरिएको MRP (Maximum Retail Price) प्रणालीलाई प्रभावकारी बनाउन सरकारसँग व्यवसायमैत्री र व्यवहारिक नीति आवश्यक रहेको बताएको छ । महासंघले आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत MRP कार्यान्वयन गर्दा साना तथा मझौला व्यवसायीलाई सहज हुने व्यवस्था गर्न आग्रह गरेको हो ।
महासंघका अध्यक्ष खिमनारायण पराजुली ले हालको बजार संरचना, कर प्रणाली तथा उत्पादन–वितरण प्रक्रियालाई ध्यानमा राखेर MRP प्रणाली चरणबद्ध रूपमा लागू गर्नुपर्ने बताए । उनले बजारमा मूल्य पारदर्शिता कायम गर्न MRP आवश्यक भए पनि व्यवसायीलाई अनावश्यक दबाब सिर्जना हुने गरी कार्यान्वयन गर्न नहुने धारणा राखे ।
महासंघले कर तथा भन्सार प्रक्रियालाई सरल बनाउने, डिजिटल मूल्य प्रणाली तथा QR/Barcode प्रविधि विकास गर्ने र साना व्यवसायीका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ ।
त्यसैगरी, महासंघले उपभोक्ता हित संरक्षण गर्दै व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकार, निजी क्षेत्र र उपभोक्ताबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ ।
प्रतिक्रिया