काठमाडौं- मुस्ताङका चार स्थानीय तहका उच्च हिमाली लेक, खर्क र पाटन क्षेत्रमा बहुमूल्य जडीबुटी यार्सा गुम्बा सङ्कलन सुरु भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम र लोमान्थाङको कार्यक्षेत्रमा पर्ने विभिन्न उच्चलेकमा यार्सा टिप्न स्थानीयसँगै जिल्ला बाहिरबाट समेत सङ्कलकहरू पुगेका छन्।
समुद्री सतहबाट चार हजार मिटरभन्दा माथिका क्षेत्रमा पाइने यार्सा गुम्बा सङ्कलनका लागि सम्बन्धित संरक्षण क्षेत्रले शुल्क तोकेर अनुमति वितरण गरिरहेका छन्। वैशाखदेखि असारसम्म चल्ने यार्सा सिजनका लागि थासाङ, घरपझोङ, वारागुङ मुक्तिक्षेत्र र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न संरक्षण व्यवस्थापन समितिले सङ्कलन फुकुवा गरिसकेका छन्।
एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक दिपक ओलीका अनुसार यार्सा सङ्कलन अनुमति लिन संरक्षण क्षेत्र व्यवस्थापन समितिले पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ। थासाङ गाउँपालिकाको कुञ्जो, कोवाङ र टुकुचे क्षेत्रका उच्चलेकमा वैशाख २ गतेदेखि यार्सा सङ्कलन खुला गरिएको उनले बताए।
घरपझोङ गाउँपालिकाले वैशाख २५ गतेदेखि छत्रबाङ लेकदेखि कुङ्ले लेकसम्मको क्षेत्रमा सङ्कलन खुला गरेको छ। समितिले स्थानीय बासिन्दाबाट चार हजार र अधियाँमा बसोबास गर्ने व्यक्तिबाट छ हजार रुपैयाँ शुल्क लिँदै अनुमति वितरण गरिरहेको जनाएको छ। हालसम्म ६५ जनाले अनुमति लिइसकेका छन्।
त्यस्तै, वारागुङ मुक्तिक्षेत्रस्थित मुक्तिनाथ संरक्षण क्षेत्र व्यवस्थापन समितिले पनि यार्सा सङ्कलन खुला गर्दै स्थानीयका लागि तीन हजार र जिल्ला बाहिरका व्यक्तिका लागि छ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ। रिसम्बा र नेर झोङ उच्चलेक क्षेत्रमा मात्रै दुई दिनमै १६५ जनाले अनुमति लिइसकेको समितिले जनाएको छ। गत वर्षको तुलनामा यस वर्ष सङ्कलकको संख्या करिब ५० प्रतिशतले घटेको बताइएको छ।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड–५ ताङ्ग्यास्थित सुर्खाङ संरक्षण क्षेत्रले समेत यार्सा सङ्कलन खुला गरिसकेको एक्याप लोमान्थाङले जनाएको छ। यद्यपि केही क्षेत्रमा एक्यापसँग समन्वय नगरी गाउँस्तरमै यार्सा सङ्कलन खुला गरिएको गुनासोसमेत आएको छ।
यार्सा सिजन सुरु भएसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा चहलपहल बढेको छ। सङ्कलकहरू लामो समय लेकमा बस्नुपर्ने भएकाले खाद्यान्न, टेन्ट र अन्य आवश्यक सामग्री बोकेर उच्चलेक पुगेका छन्।
यसैबीच, यार्सा सङ्कलन सिजनलाई व्यवस्थित बनाउन एक्यापले यस वर्षदेखि एआई जडित ड्रोन क्यामेरा प्रयोगमा ल्याएको छ। वन्यजन्तुको चोरी सिकारी, वन डढेलो तथा उच्चलेकमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रणका लागि ड्रोन निगरानी सुरु गरिएको हो। साथै प्रशासन, प्रहरी र संरक्षण समितिको संयुक्त पैदल गस्तीसमेत सञ्चालन भइरहेको छ।
व्यापारीहरूले यार्सा जिल्ला बाहिर ढुवानी गर्दा प्रतिकेजी ३१ हजार रुपैयाँ राजस्व तिर्नुपर्ने व्यवस्था छ। गुणस्तरअनुसार यसको बजार मूल्य प्रतिकेजी १५ लाखदेखि २५ लाख रुपैयाँसम्म पुग्ने व्यवसायीहरू बताउँछन्। सरकारी तथ्याङ्कअनुसार मुस्ताङबाट वार्षिक पाँचदेखि सात केजीसम्म यार्सा निर्यात हुने गरेको छ भने नेपालको करिब ८० प्रतिशत यार्सा चीन निर्यात हुने गरेको छ।
प्रतिक्रिया