काठमाडौं- मुलुकभर सञ्चालनमा रहेका १० औद्योगिक क्षेत्रका उद्योगबाट करिब २० हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार ६ हजार १६ रोपनी क्षेत्रफलमा फैलिएका औद्योगिक क्षेत्रमा हाल ६३८ उद्योग सञ्चालनमा छन्।
सर्वेक्षणअनुसार औद्योगिक क्षेत्रमा २६ उद्योग निर्माणाधीन, १६ उद्योग बन्द तथा २६ अन्य संघसंस्था सञ्चालनमा रहेका छन्।
देशभर बालाजु औद्योगिक क्षेत्र, पाटन औद्योगिक क्षेत्र, भक्तपुर औद्योगिक क्षेत्र, हेटौँडा औद्योगिक क्षेत्र, धरान औद्योगिक क्षेत्र, नेपालगन्ज औद्योगिक क्षेत्र, पोखरा औद्योगिक क्षेत्र, बुटवल औद्योगिक क्षेत्र, वीरेन्द्रनगर औद्योगिक क्षेत्र र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र सञ्चालनमा छन्।
सरकारले उद्योगमैत्री वातावरण बनाउन औद्योगिक व्यवसाय ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, कम्पनी ऐन र विशेष आर्थिक क्षेत्र ऐन संशोधन गरी लगानीमैत्री बनाएको जनाएको छ।
यस्तै, स्टार्टअप उद्यम प्रवर्द्धनका लागि ‘स्टार्टअप उद्यम नीति २०८१’ लागू गरिएको छ। गत आर्थिक वर्षमा ६०० उद्यमीलाई स्टार्टअप कर्जा प्रवाह गरिएको थियो भने चालु आवको फागुनसम्म १० हजार २४४ प्रस्ताव प्राप्त भएका छन्।
आर्थिक सर्वेक्षणअनुसार वैदेशिक लगानीतर्फ चीनको हिस्सा सबैभन्दा बढी ४८ प्रतिशत रहेको छ। भारतको हिस्सा १७.९ प्रतिशत तथा अन्य मुलुकको ३४.१ प्रतिशत रहेको उल्लेख गरिएको छ।
प्रतिक्रिया