काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले इन्धन तथा निर्माण सामग्रीको तीव्र मूल्यवृद्धिका कारण निर्माण उद्योग गम्भीर संकटमा परेको भन्दै निर्माण व्यवसायीहरूको मागप्रति ऐक्यबद्धता जनाएको छ।
महासंघले जारी गरेको विज्ञप्तिमा निर्माण उद्योग मुलुकको पूर्वाधार विकास र आर्थिक गतिविधिको मेरुदण्ड भएको उल्लेख गर्दै तत्काल न्यायोचित मूल्य समायोजनको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
महासंघका अनुसार निर्माण क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा २० लाखभन्दा बढीलाई रोजगारी दिएको छ भने सरकारी पूँजीगत खर्चको करिब ८० प्रतिशत यही क्षेत्रमार्फत हुने भएकाले यसको संकटले समग्र अर्थतन्त्रमा असर पारिरहेको छ।
विज्ञप्तिअनुसार इन्धन, बिटुमिन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा भएको अस्वाभाविक वृद्धिले निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको छ। डिजेलको मूल्य प्रतिलिटर १३९ रुपैयाँबाट २२५ रुपैयाँ पुगेको तथा बिटुमिनको मूल्य प्रतिकेजी ७५ रुपैयाँबाट १५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। यसका कारण निर्माण व्यवसायीहरूले करिब १० अर्ब रुपैयाँभन्दा बढी नोक्सानी व्यहोरेको दाबी गरिएको छ।
महासंघले नेपाल निर्माण व्यवसायी महासंघ ले उठाउँदै आएको मूल्य समायोजनको माग तत्काल सम्बोधन गर्न आग्रह गर्दै अन्यथा देशभरका विकास आयोजना प्रभावित हुने चेतावनी दिएको छ।
सार्वजनिक खरिद ऐन २०६३ को दफा ५५ अनुसार मूल्यवृद्धिअनुसार अनिवार्य रूपमा मूल्य समायोजन गर्नुपर्ने कानुनी व्यवस्था रहेको भन्दै महासंघले कुनै पनि हालतमा मूल्य समायोजन ‘फ्रिज’ नगर्न सरकारसँग आग्रह गरेको छ।
प्रतिक्रिया