काभ्रे- नेपाल चलचित्र कलाकार संघको नवनिर्वाचित कार्यसमितिलाई सम्मान तथा शुभकामना दिने क्रम जारी रहेको छ। यसैक्रममा नेपाल फिल्म सोसाइटीले काभ्रेपलाञ्चोकको पनौतीस्थित थुम्की रिसोर्टमा विशेष सम्मान तथा शुभकामना कार्यक्रम आयोजना गरी नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ।
नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका नवनिर्वाचित अध्यक्ष उत्तम केसी, उपाध्यक्ष शिवहरि नेपाल वैरागी र पूजना गुरुङ प्रधान, महासचिव सुनिल कटुवाल, सचिव गोपाल ढकाल, कोषाध्यक्ष तेजुला खतिवडा, सहकोषाध्यक्ष पवन केसी तथा अन्य सदस्यहरूलाई सम्मान गरिएको थियो।
सम्मानित सदस्यहरूमा इन्द्र दोडा खम्बे, चन्द्रकला राई, लभली संगम, श्रीदेव भट्टराई, मोनिका दाहाल, चन्द्रकुमारी, दमन रुपाखेती, नवीन श्रेष्ठ, सुलेमान संकर ईकु, छुल्टिम गुरुङ, रस्मी भट्टलगायत रहेका थिए। कार्यक्रममा वक्ताहरूले नवगठित कार्यसमितिले नेपाली चलचित्र क्षेत्रको व्यावसायिक विकास, कलाकारहरूको हकहित संरक्षण तथा चलचित्र उद्योगको समग्र उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री मधुकुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले कलाकारहरू राष्ट्रको सांस्कृतिक पहिचानका संवाहक भएको उल्लेख गर्दै चलचित्र क्षेत्रको विकासका लागि राज्यले थप प्रभावकारी नीति र सहयोग आवश्यक रहेको बताए।
विशेष अतिथिका रूपमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, कलाकार संघका संरक्षक बसुन्धरा भुसाल, निवर्तमान अध्यक्ष मोहन निरौला तथा संस्थापक अध्यक्ष रवीन्द्र खड्कालगायतको उपस्थिति रहेको थियो।
पनौती नगरपालिकाले पनि नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ। नगरपालिकाले कलाकारहरूको योगदानको उच्च मूल्यांकन गर्दै चलचित्र क्षेत्र र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको जनाएको छ। कार्यक्रममा चलचित्र तथा सांस्कृतिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सञ्चालन घनश्याम खतिवडाले गरेका थिए।
यसैबीच, स्थानीय तहहरूले समेत नवनिर्वाचित कार्यसमितिलाई सम्मान गर्ने क्रम जारी रहेको छ। कलाकारहरूले चलचित्र क्षेत्रको संस्थागत विकास, पेशागत सुरक्षा र सिर्जनात्मक उन्नयनका लागि नयाँ नेतृत्वले सकारात्मक भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका छन्।
प्रतिक्रिया