अपडेट

ग्यासको कालोबजारी रोक्न काठमाडौं प्रशासन सक्रिय, लुकाएर राखे कारबाही गर्ने चेतावनी

आइतबार, २८ भदौ २०८३, १० : ५१

काठमाडौं- काठमाडौंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ग्यास विक्रेता तथा वितरकलाई ग्यास प्राप्त हुनासाथ उपभोक्तालाई बिक्री गर्न निर्देशन दिएको छ।

प्रशासनले काठमाडौं जिल्लाभर ग्यासको आपूर्ति तथा बिक्री वितरणबारे सघन अनुगमन भइरहेको जनाएको छ। सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गरेको पाइएमा सम्बन्धित विक्रेता तथा वितरकमाथि कानुनी कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

त्यस्तै, ग्यास लुकाएर राख्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा भण्डारण गरेर बिक्री नगर्ने गरेको पाइएमा तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही गरिने प्रशासनले जनाएको छ।

ग्यास लुकाएर राखेको वा भण्डारण गरी बिक्री नगरेको सम्बन्धमा कुनै सूचना भए जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीको मोबाइल नम्बर ९८५१३३८३२२ मा जानकारी गराउन प्रशासनले उपभोक्तालाई आग्रह गरेको छ।

आइतबार, २८ भदौ २०८३, १० : ५१

प्रतिक्रिया