विश्व अर्थतन्त्र

ड्रोन हमलापछि साउदीको महत्वपूर्ण तेल पाइपलाइन अस्थायी रूपमा बन्द

शनिबार, २७ भदौ २०८३, ०९ : ४३

काठमाडौं- ड्रोन हमलापछि साउदी अरबले आफ्नो महत्वपूर्ण इस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। हमलाका क्रममा केही व्यक्ति घाइते हुनुका साथै पाइपलाइनमा समेत क्षति पुगेको साउदी अधिकारीहरूले जनाएका छन्।

साउदी प्रेस एजेन्सी ९एसपीए०का अनुसार १० सेप्टेम्बरको बिहान इस्ट–वेस्ट पाइपलाइनमा पटक–पटक ड्रोन हमला भएको थियो। हमलापछि थप क्षति हुन नदिन तथा सुरक्षाका लागि पाइपलाइनको सञ्चालन अस्थायी रूपमा रोकिएको हो।

साउदी विदेश मन्त्रालयले हमलाबाट मानवीय क्षतिसँगै भौतिक संरचनामा समेत क्षति पुगेको जनाएको छ। क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापनाको काम भइरहेको मन्त्रालयले उल्लेख गरेको छ।

साउदी सरकारले हमलाको कडा निन्दा गर्दै पाइपलाइनलाई लक्षित गर्ने केही ड्रोन इराकी भूमिबाट प्रक्षेपण गरिएको दाबी गरेको छ। यद्यपि, घटनापछि तत्काल इराकविरुद्ध जवाफी कारबाही नगर्ने निर्णय साउदीले गरेको छ।

साउदी विदेश मन्त्रालयका अनुसार इराकका प्रधानमन्त्रीले आफ्नो भूमिबाट हुने यस्ता हमला रोक्न आवश्यक कदम चाल्न इराकी सरकारलाई समय दिन आग्रह गरेका थिए। सोही अनुरोधलाई ध्यानमा राख्दै साउदीले तत्काल कुनै जवाफी कारबाही नगर्ने र इराकी सरकारका प्रयासलाई समर्थन गर्ने निर्णय गरेको हो।

तर, साउदीले आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षाको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने अधिकार सुरक्षित रहेको स्पष्ट पारेको छ।

इस्ट–वेस्ट पाइपलाइन साउदी अरबको रणनीतिक रूपमा महत्वपूर्ण तेल पूर्वाधार हो। यसले देशको पूर्वी क्षेत्रमा रहेका प्रमुख तेल क्षेत्रलाई पश्चिमी तटसँग जोड्दै तेल निर्यातका लागि वैकल्पिक मार्ग उपलब्ध गराउँछ। पाइपलाइनमा भएको क्षति र यसको सञ्चालन रोकिँदा साउदीको तेल आपूर्ति तथा निर्यात व्यवस्थामा समेत प्रभाव पर्न सक्ने देखिएको छ।

शनिबार, २७ भदौ २०८३, ०९ : ४३

प्रतिक्रिया