काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा देखिएको शिथिलता हटाउन सरकारले आगामी सोमबारभित्र १० देखि १२ बुँदे सुधार कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले पुँजी बजारलाई चलायमान बनाउने उद्देश्यसहित सरकारले सुधारका कार्यक्रम अघि बढाइरहेको जानकारी दिएका हुन् ।
‘अर्को सोमबारभित्रमा हामी १०–१२ बुँदे सेयर मार्केटसँग सम्बन्धित केही सुधारका कार्यक्रम लिएर आउँछौँ,’ उनले भने, ‘यसले पनि अलिकति राहत दिन्छ र अर्थतन्त्रलाई चलायमान हुने हिसाबले अगाडि बढ्छ भन्ने आशा छ ।’
अर्थमन्त्री वाग्लेले पछिल्लो एक दशकमा भएको अत्यधिक कर्जा विस्तारबाट सिर्जित जटिलतालाई व्यवस्थापन गर्दै अघि बढ्नुपर्ने अवस्था रहेको बताए । निजी क्षेत्रमा प्रवाह भएको कर्जा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को हाराहारीमा पुगेको उल्लेख गर्दै उनले विगतको अत्यधिक कर्जा विस्तारका अनपेक्षित तथा प्रतिकूल परिणाम अहिले व्यवस्थापन गर्नुपर्ने चुनौती रहेको बताए ।
विगतका कमजोरीलाई सम्बोधन गर्ने नाममा पुनः गैरजिम्मेवार नीति अपनाउन नसकिने उनको भनाइ छ । ‘पहिलाको गैरजिम्मेवारीपनले निम्त्याएका जटिलताहरूलाई फेरि अर्को गैरजिम्मेवारीपन थोपरिदिएर भाग्ने छुट यो सरकारलाई छैन, मलाई छैन,’ उनले भने, ‘त्यसैले असाध्यै संवेदनशील ढङ्गले सुधारको बाटोमा हामी लागेका छौँ ।’
उनले पुँजी बजारलाई केवल दैनिक सेयर मूल्यको उतारचढावका आधारमा मात्र मूल्यांकन गर्न नहुने धारणा राखे । दीर्घकालीन रूपमा पुँजी बजार उत्पादनशील क्षेत्रमा लगानीयोग्य स्रोत परिचालन गर्ने प्रभावकारी माध्यम बन्नुपर्नेमा उनले जोड दिए ।
‘पुँजी बजारलाई केवल दैनिक सेयर मूल्यको उतारचढावको दृष्टिले मात्रै हेर्नु पर्याप्त छैन,’ उनले भने, ‘दीर्घकालमा पुँजी बजार उत्पादनशील क्षेत्रमा दीर्घकालीन वित्तीय स्रोत परिचालन गर्ने माध्यम बन्नुपर्छ ।’
अर्थमन्त्री वाग्लेले सरकारले पुँजी बजारसँग सम्बन्धित कदमहरू सावधानी र संयमतापूर्वक अघि बढाइरहेको पनि बताए । तत्काल बजारमा देखिने गतिविधिसँगै दीर्घकालीन सुधारलाई समेत ध्यानमा राखेर नीति निर्माण भइरहेको उनको भनाइ छ ।
सरकारले बजारलाई कृत्रिम रूपमा चलायमान बनाउनेभन्दा दिगो रूपमा उत्पादनशील क्षेत्रमा वित्तीय स्रोत परिचालन गर्ने आधार तयार गर्न खोजिरहेको संकेत गर्दै उनले सुधारका कार्यक्रमले अर्थतन्त्रलाई समेत थप गतिशील बनाउने अपेक्षा व्यक्त गरे ।
प्रतिक्रिया