असोज १ गतेदेखि ‘सिजी प्रोपर्टिज नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी-२०८३’ हुँदै

विहीबार, २५ भदौ २०८३, १७ : २९

काठमाडौं– ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ आगामी असोजमा काठमाडौंमा आयोजना हुने भएको छ।

नेपालमा सुरक्षित, व्यवस्थित तथा वैज्ञानिक बस्ती विकाससँगै दिगो शहरीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले असोज १ देखि ४ गतेसम्म (सेप्टेम्बर १७ देखि २०) काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा घरजग्गा तथा निर्माण प्रदर्शनी आयोजना गर्न लागिएको हो।

नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा हुने प्रदर्शनी नेपाल चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्तीको अवसरमा चेम्बरसँगको सहकार्यमा आयोजना हुन लागेको हो। प्रदर्शनीको व्यवस्थापन सिया इभेन्ट एसोसिएट्स प्रालिले गर्नेछ।

प्रदर्शनीमा घरजग्गा, आवास तथा निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न कम्पनी तथा व्यवसायीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रदर्शनीमार्फत सुरक्षित आवास, आधुनिक निर्माण प्रविधि, व्यवस्थित बस्ती विकास तथा दिगो शहरीकरणसम्बन्धी जानकारी सर्वसाधारणसम्म पुर्‍याउने लक्ष्य राखिएको छ।

प्रदर्शनीको टाइटल स्पोन्सर सिजी प्रोपर्टिजरसिजी होल्डिङ्स रहेको छ भने पावर्ड बाइ स्पोन्सर एशियन पेन्ट्स, इन्स्योरेन्स पार्टनर प्रभु इन्स्योरेन्स तथा सहयोगी निकायका रूपमा स्मार्ट पानी, केबी र यूएचएस होल्डिङ्स रहेका छन्।

प्रदर्शनीको पूर्वसन्ध्यामा भदौ २५ गते काठमाडौंस्थित होटल हिमालयमा आयोजक, प्रदर्शक तथा सञ्चारकर्मीबीच विशेष भेटघाट तथा छलफल कार्यक्रमसमेत सम्पन्न भएको छ। कार्यक्रममा प्रदर्शनीको तयारी, उद्देश्य तथा घरजग्गा र निर्माण क्षेत्रका समसामयिक विषयमा छलफल गरिएको आयोजकले जनाएको छ।

विहीबार, २५ भदौ २०८३, १७ : २९

प्रतिक्रिया