काठमाडौं- अष्ट्रेलियन ब्रान्ड आईविवी अष्ट्रेलिया (AIWIBI AUSTRALIA)का डायपर तथा बेबी केयर उत्पादनको नेपालका लागि आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रालिले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी उक्त रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। आईविवी नेपालकी प्रबन्ध निर्देशक ब्यूटी कुमारी सर्राफले चेक हस्तान्तरण गरेकी हुन्।
बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आईविवीका उत्पादन बिक्रीबाट प्राप्त रकममध्ये सहयोग जुटाइएको कम्पनीले जनाएको छ। पछिल्ला तीन दिनमा आईविवीका उत्पादन खरिद गर्दा उपभोक्ताले खर्च गरेको रकमलाई आधार बनाएर ५० लाख रुपैयाँ राहत कोषमा जम्मा गरिएको सर्राफले बताइन्।
चेक हस्तान्तरण कार्यक्रममा सर्राफले विपद्को समयमा प्रभावित परिवारका लागि सहयोगी हात बन्न पाएकोमा आफूलाई गौरव लागेको बताइन्। उनले आईविवीका उत्पादन खरिद गर्ने उपभोक्ता, रिटेलर तथा डिलरहरूको साथ र विश्वासका कारण छोटो समयमै ठूलो रकम जुटाउन सम्भव भएको उल्लेख गरिन्।
“यो डोनेसन आईविवीले होइन, तपाईँहरूले गर्नुभएको हो। यसमा मामुहरू सबैको हिस्सा छ, रिटेलरको मेहनत छ, डिलरको विश्वास छ। हामीले त्यही विश्वासलाई जोडेर यो सम्भव बनाएका हौँ,” सर्राफले भनिन्।
उनका अनुसार उपभोक्ताले आईविवीका उत्पादन खरिद नगरेको भए तीन दिनमै ५० लाख रुपैयाँ जुटाउन सम्भव हुने थिएन। विगतमा उपभोक्ताले उत्पादन खरिद गरेर दिएको साथ र त्यसबाट प्राप्त व्यवसायिक लाभकै आधारमा विपद्का बेला सहयोग गर्न सकिएको उनले बताइन्।
सर्राफले राहत अभियानमा साथ दिने उपभोक्ता, रिटेलर, डिलर, सुरक्षाकर्मी, राष्ट्रसेवक तथा स्वयंसेवकप्रति धन्यवाद व्यक्त गरिन्। उनले विपद्को समयमा उद्धार तथा राहतमा खटिएका सबैप्रति सम्मानसमेत व्यक्त गरेकी छन्।
आईविवी नेपालले बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आफ्ना उपभोक्ता, रिटेलर तथा डिलर सञ्जाललाई समेत अभियानमा जोडेको जनाएको छ। सर्राफले सहयोग अभियानको संयोजन गर्न पाउनु आफ्ना लागि गौरवको विषय भएको बताइन्।
प्रतिक्रिया