मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत, मिटरब्याजदेखि सचिव बढुवासम्मको निर्णय

विहीबार, २५ भदौ २०८३, १६ : ५७

काठमाडौं– सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी हुने जानकारी दिएका हुन्। उनका अनुसार आगामी असोज ६ देखि १० गतेसम्म हुने महासभामा सहभागी हुने प्रतिनिधिमण्डलको भ्रमणलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो।

यसैगरी, सरकारले भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत अन्तरसरकारी उपसमिति ९आईजीएससी० को बैठकमा सहभागी हुने नेपाली वार्ताटोली गठन गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा अनुचित लेनदेन अर्थात् मिटरब्याज अपराध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृतिसमेत दिएको छ। यस निर्णयसँगै मिटरब्याजबाट पीडित नागरिकलाई न्याय दिलाउने उद्देश्यले आवश्यक कानुनी व्यवस्था निर्माण गर्ने प्रक्रिया अघि बढ्ने भएको छ।

त्यस्तै, सरकारले पाँच जिल्लाका गरिब घरपरिवारको सूची स्वीकृत गरेको छ। भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा काठमाडौं, भक्तपुर, ललितपुर, सप्तरी र दाङका २७ स्थानीय तहमा रहेका १७ हजार ४३८ गरिब घरपरिवारको सूची स्वीकृत गरिएको मन्त्री पोखरेलले जानकारी दिए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा शिक्षक सेवा आयोगका रिक्त पदाधिकारी पनि नियुक्त गरिएको छ। मन्त्रिपरिषद्ले आयोगको अध्यक्षमा भक्तपुरका डा. हरिप्रसाद लम्साललाई नियुक्त गरेको छ। सदस्यमा मकवानपुरका रामशरण सापकोटा तथा महिला सदस्यमा काठमाडौंकी विष्णु घिमिरे (रिमाल) नियुक्त भएका छन्।

प्रशासनिकतर्फ सरकारले दुई सहसचिवलाई विशिष्ट श्रेणी अर्थात् सचिव पदमा बढुवा गर्दै प्रदेश प्रमुख सचिवको जिम्मेवारी दिएको छ। सहसचिव विनोदबहादुर कुँवरलाई सचिवमा बढुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ। त्यस्तै, सहसचिव उत्तरकुमार खत्रीलाई पनि सचिवमा बढुवा गर्दै सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिइएको छ।

विहीबार, २५ भदौ २०८३, १६ : ५७

प्रतिक्रिया