बीमा र बचतको सही सन्तुलन : भविष्य सुरक्षित गर्ने उत्तम तरिका

विहीबार, २५ भदौ २०८३, १५ : ४२

बेलायत आएको दुई वर्ष पनि नपुग्दै आफ्नै व्यवसाय सुरु गरियो। त्यसपछि लगातार १८ वर्षसम्म रेस्टुरेन्ट सञ्चालन गरियो। सन् २०१६ जनवरी ४ देखि भने व्यवसायबाट विश्राम लिएँ। किन हो कुन्नि, त्यसपछि फेरि आफ्नै व्यवसायमा फर्किन मन लागेन।

केही समयपछि विभिन्न एजेन्सीमार्फत सामान्य काम गर्न थालियो। यताउता जाने गरिरहने भएकाले स्थायी जागिर खोज्ने आवश्यकता पनि महसुस भएन। तर सन् २०२१ को मार्चदेखि भने शनिबार एक दिन मात्र काम गर्ने गरी स्थायी करारमा एउटा कम्पनीमा जोडिएँ।

काम हप्तामा एक दिन मात्र थियो, तर त्यो कामसँग जोडिएका केही सुविधा भने निकै रोचक थिए। बिरामी भएर काममा जान नसक्दा पनि निश्चित अवस्थामा पैसा आउने व्यवस्था थियो। निजी स्वास्थ्य बीमाको सुविधा पनि थियो। प्रिमियम कम्पनीले तिर्ने र आफूले त्यसको थोरै कर मात्र तिरे पुग्ने। एकपटक आँखाको जाँच गराउनुबाहेक त्यसबाट अन्य स्वास्थ्य सेवा लिनुपर्ने अवस्था आएन।

काम गर्ने क्रममा कुनै दुर्घटना वा अप्रत्याशित घटना भयो भने आवश्यकताअनुसार सुविधा पाउने व्यवस्था पनि थियो। तर त्यसमध्ये मलाई त्यतिबेला सबैभन्दा गजब लागेको चाहिँ कुनै कारणले मेरो मृत्यु भयो भने परिवारले एक लाख पाउन्ड पाउने व्यवस्था थियो। कहिलेकाहीँ घरमा, “म मरेँ भने पनि एक लाख पाउन्ड त पाइहाल्छ नि!” भनेर जिस्किन्थे।

त्यतिबेला त्यो कुरा एउटा मजाकजस्तो मात्र लाग्थ्यो। तर त्यही कम्पनीमा काम गर्ने दुई जना कर्मचारीको मृत्यु हुँदा भने झसङ्ग भइयो। जीवन कति अनिश्चित रहेछ र एउटा रोजगारसँग जोडिएको बीमा सुविधा परिवारका लागि कति महत्त्वपूर्ण हुन सक्छ भन्ने कुरा अलि गहिरोसँग महसुस भयो। जीवनमा हामी धेरै कुरालाई सामान्य ठान्छौँ। सायद जीवनमा कुनै कुरा आफैँलाई नपरेसम्म त्यसको वास्तविक महत्त्व बुझिँदैन।

मेरो त्यो काम यसै वर्ष, सन् २०२६ को मार्चदेखि समाप्त भयो। म जहाँ पुगिएला त्यहीँ आगो फुकिएला भन्ने खालको मानिस हुँ। तर यो काम सकिएपछि भने मलाई पनि विविध बीमाबारे अलि अध्ययन गर्न मन लाग्यो। यसभित्रका धेरै मध्ये केही पक्षहरू बारे लेख्ने कोसिस गरेको छु।

बेलायतमा बीमा मानिसको दैनिक जीवन र आर्थिक योजनाको एक अपरिहार्य हिस्सा बनेको छ। यहाँ बीमा भन्नाले गाडी, घर वा यात्राको सुरक्षा मात्र बुझिँदैन। मानिसहरूले आफ्नो जीवन, स्वास्थ्य, कमाइ, घरको मोर्गेज र मृत्युपछि परिवारमाथि आउन सक्ने आर्थिक भारलाई समेत मध्यनजर गर्दै विभिन्न प्रकारका बीमा गर्ने गर्छन्। विशेषगरी परिवारको मुख्य कमाउने व्यक्ति, घरको मोर्गेज भएको व्यक्ति, साना बालबच्चा भएका अभिभावक र आफैँ व्यवसाय वा फ्रीलान्सिङमा संलग्न मानिसहरूका लागि यो सुरक्षा अझ बढी अर्थपूर्ण हुन्छ। यसको मूल मर्म भनेकै भविष्यमा आउन सक्ने ठूला आर्थिक जोखिमलाई आजैदेखि व्यवस्थापन गर्नु हो।

जीवन सुरक्षाका लागि जीवन बीमा, गम्भीर रोग बीमा (Critical Illness Cover) र आम्दानी सुरक्षा बीमा (Income Protection) प्रमुख उपाय हुन्। जीवन बीमामा यदि व्यक्तिको मृत्यु भएमा सम्झौता अनुसार तोकिएको रकम परिवार वा तोकिएको व्यक्तिलाई उपलब्ध गराइन्छ, जसले परिवारमा आइपर्ने आर्थिक संकटलाई कम गर्न ठूलो मद्दत पुर्‍याउँछ। उदाहरणका लागि, यदि कसैको ठूलो मोर्गेज छ र परिवार उसको आम्दानीमा मात्र निर्भर छ भने, उसको मृत्युपछि जीवन बीमाबाट प्राप्त हुने रकमले ऋण चुक्ता गर्न, बालबच्चाको भविष्य सुरक्षित गर्न वा दैनिक घरखर्च चलाउन सहज बनाउँछ।

गम्भीर रोग बीमा भनेको अलि फरक प्रकारको सुरक्षा हो। बीमा सम्झौतामा उल्लेख गरिएका विशिष्ट गम्भीर रोगहरू (जस्तै: क्यान्सर, हृदयाघात वा मस्तिष्काघात) लागेको चिकित्सकीय रूपमा प्रमाणित भएमा एकमुष्ट रकम उपलब्ध गराइन्छ। तर ध्यान दिनुपर्ने कुरा के छ भने, सबै किसिमका स्वास्थ्य समस्या यसमा समेटिँदैनन्। त्यसैले बीमा लिँदा कुन अवस्थामा, कुन रोगका लागि र कति रकम पाइन्छ भन्ने कुरा स्पष्ट रूपमा बुझ्नु जरुरी हुन्छ।

काम गर्ने मानिसका लागि आम्दानी सुरक्षा बीमा निकै महत्त्वपूर्ण मानिन्छ। बिरामी वा दुर्घटनाका कारण लामो समय काम गर्न नसक्दा नियमित आम्दानीको केही हिस्सा यसले प्रदान गर्छ। यद्यपि, यसले सामान्यतया पूरै तलब दिँदैन; सम्झौता अनुसार आम्दानीको निश्चित प्रतिशत मात्र उपलब्ध गराउँछ। धेरैजसो योजनामा ४, १३ वा २६ हप्ताजस्ता 'प्रतीक्षा अवधि' (Waiting Period) हुन्छ। अर्थात्, काम गर्न नसकेको पहिलो दिनदेखि नै पैसा आउन थाल्दैन। तोकिएको अवधि पूरा भएपछि मात्र भुक्तानी सुरु हुन्छ।

यसको वास्तविक महत्त्व जब व्यक्तिको आम्दानी अचानक रोकिन्छ तब महसुस हुन्छ। मानौँ, कसैको मासिक आम्दानी २,५०० पाउन्ड छ। दुर्घटना वा गम्भीर बिरामीका कारण काम गर्न नसक्दा घरभाडा, ऋणको किस्ता, बिजुली, ग्यास र खाना जस्ता खर्चहरू भने रोकिँदैनन्। यदि रोजगारदाताले बिरामी बिदामा तलब दिने व्यवस्था गरेको छ भने केही समय राहत मिल्न सक्छ। त्यसपछि योग्य कर्मचारीले वैधानिक बिरामी भत्ता (Statutory Sick Pay) पाउन सक्छन्।

६ अप्रिल २०२६ देखि यससम्बन्धी नियममा केही परिवर्तन आएको छ, जसअनुसार योग्य कर्मचारीले पहिलो योग्य दिनदेखि नै भत्ता पाउन सक्ने व्यवस्था छ। आर्थिक वर्ष २०२६–२७ का लागि यसको अधिकतम दर हप्ताको १२३.२५ पाउन्ड वा औसत साप्ताहिक आम्दानीको ८० प्रतिशत (जुन कम हुन्छ) सम्म रहनेछ, जुन सामान्यतया अधिकतम २८ हप्तासम्म मात्र उपलब्ध हुन्छ। तर धेरै पूर्णकालीन कामदारका लागि यो रकम नियमित तलबको तुलनामा निकै कम हुन सक्छ। त्यसैले लामो समय काम गर्न नसक्ने अवस्था आउन सक्छ भने व्यक्तिगत आर्थिक तयारी हुनु अत्यन्तै जरुरी छ।

यहाँ रोजगारदाताबाट पाइने बिरामी बिदा, सरकारी बिरामी भत्ता, व्यक्तिगत बचत, आम्दानी सुरक्षा बीमा र परिस्थिति अनुसारको सरकारी सहयोगले फरक-फरक भूमिका खेल्छन्। बिरामी भएर काम गर्न नसक्ने व्यक्तिले परिस्थिति अनुसार नयाँ रोजगारी, सहयोग भत्ता वा अन्य सरकारी सहायता पाउन सक्छन्। तर यस्तो सहायता व्यक्तिको स्वास्थ्य, आम्दानी, बचत र सरकारी मापदण्डमा भर पर्छ। त्यसैले “बिरामी भए सरकारले पूरै तलब दिन्छ” भन्ने सोच राख्नु गलत हुन सक्छ।

अर्को कुरा, जागिर गुम्नु र बिरामी भएर काम गर्न नसक्नु दुई फरक कुरा हुन्। आम्दानी सुरक्षा बीमाले सामान्यतया बिरामी वा दुर्घटनाका कारण काम गर्न नसकेको अवस्थालाई सम्बोधन गर्छ। कम्पनीले कर्मचारी कटौती गर्दा (Redundancy) जागिर गुमेको अवस्थामा यो बीमाले स्वतः पैसा दिने हुँदैन। त्यस्तो अवस्थामा सेवा समाप्ति क्षतिपूर्ति, बाँकी तलब, व्यक्तिगत बचत र सरकारी सहयोग नै मुख्य आधार बन्छन्।
मोर्गेज भएका परिवारका लागि आर्थिक सुरक्षा अझ संवेदनशील विषय हो। कतिपयले 'होम लोन रिपेमेन्ट प्रोटेक्सन' जस्ता योजनाहरू पनि लिने गर्छन्, जसले बिरामी वा दुर्घटना हुँदा ऋणको किस्ता तिर्न सहयोग गर्छ। तर यस्ता योजनामा पनि विभिन्न सीमा र शर्तहरू हुन्छन्। त्यसैले बीमा छ भन्दैमा ढुक्क मात्र हुनुहुँदैन। कुन जोखिममा कति र कति समयसम्म सुरक्षा पाइन्छ भन्ने कुरा गहिरिएर बुझ्नुपर्छ।

बीमाको साथसाथै आकस्मिक बचत पनि उत्तिकै आवश्यक छ। आर्थिक संकट पर्दा केही महिनाको खर्च धान्न सक्ने बचतले परिवारलाई तत्काल राहत दिन्छ। त्यसैले बलियो आर्थिक सुरक्षा भनेको एउटा मात्र बीमामा भर पर्नु होइन। यो त बचत, रोजगारदाताका सुविधाहरू, सरकारी सहायता र उचित बीमाको सही संयोजन हो।

आफ्नै व्यवसाय गर्ने वा स्वतन्त्र रूपमा काम गर्ने मानिसहरूका लागि यो तयारी अझ बढी महत्त्वपूर्ण हुन्छ। कर्मचारीले जस्तो उनीहरूले रोजगारदाताबाट बिरामी बिदामा तलब पाउने सुविधा पाउँदैनन्। काम गर्न नसक्नेबित्तिकै आम्दानी बन्द हुन सक्छ। त्यसैले आफ्नो शारीरिक क्षमतामै आम्दानी निर्भर हुने व्यक्तिले आम्दानी सुरक्षा बीमा र पर्याप्त बचतलाई प्राथमिकता दिनुपर्छ। बीमाको शुल्क (Premium) पनि व्यक्तिको उमेर, पेशा, स्वास्थ्य, धूम्रपान गर्ने बानी र रोजेको सुरक्षाको स्तर अनुसार फरक-फरक हुन्छ।

बेलायतमा मृत्युपश्चात् हुने अन्त्येष्टि खर्चको व्यवस्थापन पनि एउटा महत्त्वपूर्ण पाटो हो। धेरै मानिसहरू आफ्नो मृत्युपछि परिवारले खर्च जुटाउन कठिन नपरोस् भनेर पहिले नै तयारी गर्छन्। यसका लागि अन्त्येष्टि योजना (Funeral Plan) वा जीवन बीमा प्रयोग गर्न सकिन्छ। अन्त्येष्टि योजनाले मृत्युपछि गरिने सेवाहरूको खर्च व्यवस्थापनमा केन्द्रित रहन्छ भने जीवन बीमाले परिवारलाई एकमुष्ट रकम प्रदान गर्छ, जसलाई अन्त्येष्टि, ऋण भुक्तानी वा अन्य आवश्यकतामा प्रयोग गर्न सकिन्छ।

५० वर्षभन्दा माथिका व्यक्तिहरूका लागि पनि बेलायतमा विभिन्न जीवन बीमा योजनाहरू उपलब्ध छन्, जसले मृत्युपश्चात् परिवारलाई आर्थिक भार कम गर्न मद्दत गर्छन्। तर यस्तो बीमा लिँदा आफूले जीवनभर तिर्ने कुल प्रिमियम र मृत्युपछि प्राप्त हुने रकमबीचको सन्तुलन बुझ्नु आवश्यक छ। कहिलेकाहीँ धेरै वर्षसम्म प्रिमियम तिर्दा पनि प्राप्त हुने रकम आफूले तिरेको कुल रकमभन्दा कम पनि हुन सक्छ। त्यसैले सम्झौताका सम्पूर्ण सर्तहरू राम्ररी बुझेर मात्र निर्णय गर्नु बुद्धिमानी हुन्छ।

बीमा व्यवसाय र यसको रेखदेख वित्तीय आचरण प्राधिकरण (FCA) ले गर्छ। त्यसैले बीमा गर्दा आफूले सल्लाह लिने व्यक्ति वा एजेन्ट आधिकारिक संस्थासँग आबद्ध छ कि छैन भनेर पक्का गर्नुपर्छ। बीमा आवेदन दिँदा आफ्नो स्वास्थ्य अवस्था, धूम्रपान गर्ने वा नगर्ने बानी र कम्पनीले मागेका अन्य विवरणहरू सधैँ इमानदारीपूर्वक दिनुपर्छ। यदि कुनै महत्त्वपूर्ण कुरा लुकाइएको छ वा गलत जानकारी दिइएको छ भने पछि दाबी गर्दा ठूलो समस्या आउन सक्छ।

कहिलेकाहीँ बीमा दाबी अस्वीकार हुन सक्छ। यदि ग्राहकलाई त्यो निर्णय अन्यायपूर्ण लाग्यो भने पहिले बीमा कम्पनीमै औपचारिक उजुरी गर्न सकिन्छ। त्यहाँबाट पनि समाधान नभएमा वित्तीय लोकपाल (Financial Ombudsman) सेवामा जान सकिन्छ। त्यसैले बीमा लिने बित्तिकै कागजपत्र सुरक्षित राख्नु मात्र ठूलो कुरा होइन। बीमाले वास्तवमा के–के समेट्छ, के समेट्दैन, दाबी गर्ने प्रक्रिया के हो, कति समय पर्खनुपर्छ र कति रकम पाइन्छ भन्ने कुराहरू पहिले नै बुझ्नु एकदमै आवश्यक छ।

बीमाले जोखिमलाई पूर्ण रूपमा हटाउन त सक्दैन, तर जोखिम आउँदा त्यसले निम्त्याउने ठूलो आर्थिक भार परिवारको काँधमा एक्कासी नपरोस् भन्नका लागि यसले ठूलो मद्दत गर्छ। यही कारणले बेलायतमा बीमालाई केवल एउटा खर्चको रूपमा नभई परिवारको आर्थिक भविष्य सुरक्षित गर्ने एउटा जिम्मेवार योजनाका रूपमा हेरिन्छ। (लेखक श्रेष्ठ हाल बेलायतमा छन् । )

विहीबार, २५ भदौ २०८३, १५ : ४२

प्रतिक्रिया