नेपाल र चीन हिमालय सीमा वारिपारिका परम्परागत् मित्र हुन् । यी मित्रहरु नदी, हिमाल, भञ्ज्याङ्ग र पञ्चशील सिद्धान्त (शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्त) बाट जोडिएका छन् । यसबीचमा मार्च २१, १९६० मा नेपाल – चीन सीमा निर्धारण सम्बन्धी सम्झौता भयो । यो सम्झौताको आधारमा अक्टोबर ५, १९६१ मा नेपाल – चीन सीमा सन्धि भयो । त्यो सन्धिले ‘तुङलिङ त्साङ्पो’ जसलाई लेङ्दे नदी पनि भनिएको छ, यो नदीको केही भागलाई नेपाल – चीन सीमा रेखाको रुपमा निर्धारण ग¥यो । अव, दुई देशीय सीमा सन्धिले केरुङ नदी र लेङ्दे (तुङलिङ त्साङ्पो) नदीको संगमबाट समग्ररुपमा नामाकरण गरिएको लेङ्दे नदीहुँदै रसुवागढी पुल पार गरी जाम्बु खोलासम्मको नदी खण्डलाई नेपाल – चीन सीमारेखाको एक अंशका रुपमा निर्धारण ग¥यो । यसरी लेङ्दे दुई देशीय अन्तर्राष्ट्रिय सीमाबर्ती खोला हो । लेङ्दे खोलाको मूल जलाधार अर्थात् उद्गम क्षेत्र चीनको स्वायत्त क्षेत्र सिचाङको जिलोङ (केरुङ) काउण्टीमा पर्ने देखिन्छ ।
यसको अर्को माथिल्लो जलाधार केन्द्र ‘पेखु काङ्री’ सिचाङको दक्षिणी भागमा अवस्थित हिमाली पर्वतश्रृंखला हो, जसको जलविभाजक क्षेत्रबाट लेङ्दे खोला तथा केरुङ त्साङ्पो (केही ठूलो खोला) लगायत त्रिशुली नदी प्रणालीका माथिल्ला जलाधारहरु विकसित भएका हिमतालीय स्रोतहरु हुन् । लेङ्दे खोलाको सहायक धाराहरुमध्ये ‘रिचोङ चु’ र ‘चुसुम्दो त्साङ्पो’ पनि लाङटाङ हिमाली जलाधारक्षेत्र तथा पेखु काङरी क्षेत्रबाट उत्पत्ति भएका छन् । ‘रिचोङ चु’ लाङटाङ हिमाली क्षेत्रबाट उत्पन्न हुने लेङ्दे खोलाको अर्को सहायक खोला हो । पुनश्चः रिचोङ खोलाको उद्गम क्षेत्र अहिलेको नेपाल – चीन सीमाबर्ती क्षेत्र आसपासको लाङटाङ हिमाली जलाधार क्षेत्र देखिन्छ । ‘चुसुम्दो त्साङपो’ पनि पेखु काङ्ग्री केन्द्रको हिमाली – हिमनदीय भूभाग क्षेत्रमा परेको देखिन्छ । यसको माथिल्लो जलाधार पुरेपु हिमताल क्षेत्रसँग सम्बन्ध देखिन्छ ।
यसरी यो पनि हिमाली क्षेत्रबाट आउने जलप्रवाह हो । त्यसैगरी यस अन्तर्राष्ट्रिय सीमाबर्ती क्षेत्रमा छोछेन खोला सिचाङको हिमालय क्षेत्रमा उद्गम भई पुरेपु त्साङ्पोसँग सिचाङतर्फ नै संगम भएको देखिन्छ । यसरी पुरेपु त्साङ्पो मुख्यतः चीनको सिचाङतर्फ बग्ने अर्को केही ठूलो खोला हो । यी दुई नेपाल – चीन अन्तर्राष्ट्रिय सीमाक्षेत्र नजिकै आसपासको लेङ्दे खोलामा मिसिन्छन् । समग्रमा यी ‘चु’ (खोला) हरु नेपाल र चीन सीमाबर्ती लाङटाङ – केरुङ क्षेत्र वारिपारिका प्राकृतिक हिमतालीय जलाधार क्षेत्रहरु हुन् ।
यिनै जलाधार क्षेत्रहरुबाट पानीको प्रवाह नेपालको रसुवागढी सीमा नाका विन्दुमा आइपुग्छन् । त्यसैगरी उत्तर केरुङ बजार क्षेत्रबाट नेपालतिर बगेर अर्को एउटा चिनियाँ केरुङ खोला पनि आइपुग्छ तर यसपाली केरुङ खोलाले क्षति पु¥याएको होइन, जुन पूर्व लाङटाङ क्षेत्रबाट बगरे आएको लेङ्दे (यसपाली पनि क्षति पु¥याएको) खोलासँग मिसिन्छ र त्यहाँ दोभान बन्छ । त्यसपछि मात्र त्यही दोभान विन्दुबाट समग्रमा नेपाली नाम ‘भोट खोला’ सुरु हुन्छ ।
कतिपय भोटखोलाहरु निर्माण हुनेक्रममा वास्तवमा नेपालको उत्तरी हिमालय सीमाबर्ती क्षेत्रमा र चीनको दक्षिणी सिचाङ सीमाबर्ती क्षेत्रमा मिलेर बनेको नेपाल र चीन दुवैतर्फको हिमतालीय स्रोतहरुको महत्वपूर्ण भूमिका रहिआएको छ । यसरी नेपालको रसुवागढी दोभान विन्दुबाट सुरु भएको भोटखोला दक्षिण नेपालतर्फ तल तल बग्दै आएपछि एउटा यस्तो विन्दु आइपुग्छ जहाँ पूर्व गोसाइँकुण्डबाट आएको त्रिशुली खोलासँग मिसिएपछि मात्र अब बल्ल त्यहाँदेखि त्रिशुली नदीको नाम लिएर बग्न सुरु गर्छ, जुन सप्तगण्डकी (नारायणी) नदीमा गएर मिसिन्छ । यसरी सप्तगण्डकी नदी निर्माण हुनुमा चीनको पानीको भूमिका पनि महत्वपूर्ण रहिआएको छ ।
चिनियाँ (सिचाङ) भाषामा ‘चु’ भनेको नदी, खोला वा पानी हो भने ‘त्साङ्पो’ भनेको केही ठूलो नदी, ठूलो बहाव भएको नदी भन्ने हुन्छ । यसरी यी खोलाहरुले नेपाल र चीनको भौगोलिक सिमाना क्षेत्र वरपरका ऐतिहासिक महत्व बोकेका छन् । तर भदौ १० को प्रलयकारी बाढी प्रकोपले अकल्पनीय रुपमा मानवीय क्षति भइ देश राष्ट्रिय शोकमा डुबेको छ । चीनतर्फ पनि मानवीय क्षति भएको छ ।
लाङटाङ स्थित लिरुङ चुचुरोको प्रकाशित भौगोलिक निर्देशाङ्क करिब २८.२५६१ डिग्री उत्तर अक्षांश र ८५.५१९४ डिग्री पूर्व देशान्तर रहेको पाइएको छ । लाङटाङ लिरुङको ठीक उत्तर – पूर्वतर्फ किम्सुङ (त्साङपु री) पर्छ । यसको भौगोलिक निर्देशाङ्क करिब २८.२७२३ डिग्री उत्तर आक्षांश र ८५.५५२६ डिग्री पूर्व देशान्तर रहेको पाइएको छ । यसरी लाङटाङ लिरुङ – किम्सुङ, त्साङ्पु रि आसपासको उच्च हिमाली जलाधार क्षेत्र र त्यसको उत्तरतर्फको रहेको लेङ्दे खोला प्रणाली पछिल्लो समय विश्व सञ्चार माध्यमको चर्चाको केन्द्र बनेको छ ।
वैज्ञानिक प्रमाण अनुसार वि.सं. २०८३ भदौ १० गते करिब ४९०० मिटरको उचाइमा रहेको लाङटाङ लिरुङ – त्साङपु री हिमाली प्रणालीको उत्तरी ढलोमा विहान करिब ८ः३७ बजजेतिर हिमचट्टान खसेर माथिल्लो सीमा क्षेत्रमा चीनतर्फको छोछेन खोला तथा पुरेपु त्साङ्पुको संगम स्थल नजिक अस्थायी ताल बनेको पाइन्छ । वास्तवमा हिमचट्टान मात्र होइन, नेपाल–चीन सीमाबर्ती क्षेत्रतर्फ लाङटाङ हिमालको पछाडिपट्टिको एउटा पुरै भाग ढिक्कै खसेको हुन सक्छ । यसको अध्ययन नेपाली पक्षबाट पनि हुन आवश्यक छ । हिमचट्टान खसेको करिब ३ मिनेटपछि ८ः४० मा ४.४ रेक्टर स्केलको भूकम्प आएको चिनियाँ सञ्चार माध्यमहरुले त्यतिबेलै जनाएका थिए । त्यसपछि लगत्तै रसुवागढी नाकाबाट करिब २२ किलोमिटर दूरीको क्षेत्र आसपासमा लेङ्दे खोलाको वहाव अवरुद्ध भई करिब ०.११ वर्ग किलोमिटरको अस्थायी प्राकृतिक ताल बनेको तथ्य तथ्यांकहरु प्रस्तुत गरी वैज्ञानिकहरुले प्रारम्भिक निष्कर्ष निकाले । अस्थायी तालको यही प्राकृतिक बाँध फुटेर आएको लेङ्दे खोलाको बाढीले रसुवागढी, टिम्मुरेहुँदै नुवाकोट वेत्रावती बजार, धादिङ लगायतका तटीय जिल्लामा रहेको मानव बस्तीमा पसेर अकल्पनीय, अपुरणीय मानवीय क्षति भयो ।
जल विज्ञान तथा जलश्रोत अनुसन्धान केन्द्र बाढी पुर्वानुमान महाशाखा, नेपालले तयार गरेको एक सामग्री अनुसार सुरुमा भूकम्प आएर हिमपहिरो गएको भन्ने छ, अहिले त्यो नभएर हिमचट्टान खसेर भूकम्प आएको भन्ने उल्लेख पाइन्छ । सबैभन्दा पहिला रसुवागढी स्टेसन पूर्णरुपमा क्षति भयो, जसबाट विहान ८ः४० सम्मका अन्तिम तथ्यांकहरु महाशाखाले प्राप्त गरेको उल्लेख पाइन्छ । बाढीले ६ वटा स्टेसनहरुलाई पूर्णरुपमा क्षति गरेको, अटोमेटिक स्टेसनहरुमा ४ जना गज रिडरहरु रहेको र वहाँहरु सबैजना सकुशल रहनु भएको उल्लेख पाइन्छ । नेपाल र चीन (सिचाङ) को सीमाबर्ती विन्दू रसुवागढी – केरुङको सिसिटिभी क्यामेरा फुटेज भेटिन्छ जसमा विहान ८ः४५ बजे रसुवागढी – केरुङ सीमाबर्ती विन्दूलाई बाढीले क्षति गरेको देखिन्छ ।
लेङ्दे खोलाको बाढीको तीव्र प्रवाहले करिब ८ः३७ बजेदेखि अस्थायी प्राकृतिक ताल बनेर फुटेको स्थानबाट उत्पत्ति भएको मलबा (फ्लोड डेव्रिस) करिब २२ किलोमिटर दूरी पार गरी करिब ८ः४५ बजेभित्र ८ मिनेटमा रसुवागढी – केरुङ सीमाबर्ती नाकाको विन्दूमा आइपुगेको उल्लेख पाइन्छ । प्रकोपको यो वास्तविक घटना यति अपत्यारिलो जस्तो लाग्छ कि यसले मानिसलाई सूचना प्रवाह गर्ने मौकासम्म नदिई चिनियाँ पक्ष र नेपाली पक्ष दुवैतर्फ आकस्मिक रुपमा अकल्पनीय क्षति ग¥यो । महाशाखालाई लाङटाङ – स्याफ्रुवेंसी र भोटेकोशी – स्याफ्रुवेंसी क्षेत्रका अन्तिम तथ्यांकहरु विहान ८ः५० बजेसम्ममा प्राप्त भएको र त्रिशुली – वेत्रावती तथा फलाकु – वेत्रावती क्षेत्रका अन्तिम तथ्यांकहरु विहान ९ः२० बजेसम्म प्राप्त भएको भन्ने उल्लेख पाइन्छ ।
फुर्केखोलामा अन्तिम क्षति भएका ६ वटा स्टेसनहरुमध्येबाट विहान ११ः४० बजे सम्मका तथ्यांकहरु महाशाखामा प्राप्त भएको जनाइएको छ । फुर्केखोलाका यी ६ वटा स्टेसनहरुमा गज रिडरहरु पनि रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय धुञ्चे रसुवाबाट विहान ९ः०० बजेतिर बाढी आएको भनेर महाशाखालाई खबर आएको र बेत्रावतीमा भएका गज रिडरहरुबाट पनि बाढीको सूचना प्राप्त गरेको जनाइएको छ । त्यसपछि महाशाखाले तुरुन्त करिब ९ः१५ बजे नेपाल टेलिकम र एनसेलमा करिब ७ लाख जति एसएमएस (मेसेज) बजाएको पाइन्छ ।
चिनियाँ येनजेन ग्रुपले अगष्ट २९ सम्म गरेको अनुगमनबाट नेपाल र चीनको सीमाबर्ती क्षेत्रमा हिमचट्टान खसेर नदी थुनिएर बनेको अस्थायी तालको क्षेत्रफल करिब १ लाख वर्गमिटर फराकिलो रहेको जनाएको छ । चिनियाँ सरकारी टेलिभिजन टिजिएनएका अनुसार यो ताल १४ वटा मानव फुटवल मैदान बराबर रहेको उल्लेख पाइन्छ । दोस्रो ताल २ पनि पहिचान गरेका छन् । दोस्रो ताल पहिलो तालभन्दा करिब ५ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा रहेको र यी तालहरु हाल नियन्त्रणमा रहेको उल्लेख गरेका छन् । भदौ १० गते आएको बाढीपछि चिनियाँ पक्षले सो क्षेत्रमा नियमित अनुगमन गरिरहेको पाइएको छ ।
भदौ १० गते आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनु भएका सम्पूर्ण दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रकृतिको यस अकल्पनीय विपद्ले धेरै परिवारका प्रियजन गुमाउनुको साथै घर, सम्पत्ति, जीविकोपार्जन र भविष्यका अनेकौं आशाहरुमा गहिरो चोट पु¥याएको छ । आफ्ना आफन्त, परिवारजन तथा प्रियजन गुमाउनु भएका सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना छ । यस दुःखद् घडीमा दिवङ्गत आत्माहरुको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा यो पीडा सहन सक्ने धैर्य, साहस र शक्ति प्राप्त होस् । भविष्यमा यस्तो क्षति नदोहोरियोस् । त्यसअनुरुप नेपाल सरकार र चीन सरकार मिलेर अगाडि बढ्ने शक्ति मिलोस् ।
यो पटकको बाढीले मानव, पशुधन, पूर्वाधारहरु र नेपाल – चीन सम्बन्धसँग सम्बन्धित अर्को एउटा अपुरणीय ऐतिहासिक क्षति पनि भएको छ ।

यो बाढीले नेपाल – चीन ऐतिहासिक वेत्रावती सन्धि ढुङ्गोलाई पनि बगाएको छ । अक्टोबर ५, १७९२ मा वेत्रावती लडाइँमा नेपाली सेनाको फौजले चिनियाँ सेनाको फौजसँग प्रत्याक्रमण गर्न बाध्य भइ दुवैतर्फ क्षति भएको थियो । परिणामतः वि.सं. १८४९ आश्विन तद्अनुसार जुन १७९२ मा नेपाल – चीन (सिचाङ) बीच बेत्रावतीको त्यही कालो ठूलो हात्ती ढुङ्गो वरिपरि रहेर ऐतिहासिक ‘बेत्रावती सन्धि’ भएको थियो । वेत्रावतीको त्यही सन्धि ढुङ्गोलाई आधार मानेर नेपाल–चीन (सिचाङ) बीच ७ सुत्रीय बुँदाहरुमा बेत्रावती सन्धि भएको थियो ।
त्यो ढुङ्गामा खोपेर सन्धि गरेको विषयलाई नेपाली र चिनियाँ भाषामा लेखिएको थियो तर संरक्षणको अभावमा ती ऐतिहासिक अक्षरहरुलाई धेरै वर्ष अगाडि मिसिनको प्रयोग गरी काटेको हुन सक्ने अनुमान गर्न सकिन्छ । त्यो ऐतिहासिक वेत्रावती सन्धि भएको भीमकाय हात्ती ढुङ्गो नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं. १०, वेत्रावतीको भैंसे भन्ने ठाउँको वेत्रावती नदी किनारमा थियो । त्यो ढुङ्गो रहेको करिब ३/४ सय मिटर जति पूर्वपट्टि त्रिशुली – रसुवागढी – केरुङ (चीन) आवतजावत गर्ने अन्तर्राष्ट्रिय राजमार्ग रहेको छ ।
आजभोलि त्यो ऐतिहासिक सन्धि ढुङ्गो कहाँ छ होला ? एक अपुष्ट स्रोत अनुसार हाल त्यो ढुङ्गो रातोमाटे भन्ने ठाउँमा छ रे भनेको सुन्नमा आएको छ । यस्मा पनि सम्बन्धित निकायको ध्यान जाओस् । त्यो सन्धि ढुङ्गो एकातिर नेपाल, नेपाल सरकार नेपाली सेनाको इतिहास र चीनसँग जोडिएको छ भने अर्कोतिर संसारभरिका इतिहासप्रेमीहरुको मनभित्र गढेर रहेको छ ।
निष्कर्षतः तथ्य तथ्यांकदेखि भोगाईसम्मको दृश्यले नेपाल सरकार र चीन सरकारका नीति निर्माताहरुबीच ऐतिहासिक परम्परागतकालदेखि कायम रहिआएको सद्भाव, समन्वय र सहकार्यलाई निरन्तरता दिँदै तत्कालीन, दीर्घकालीन नीतिगत उपायहरु अपनाई भविष्यमा दोहोरिन सक्ने हिममण्डलीय प्रकोपको क्षतिबाट बच्न एकजुट हुनुपर्ने सन्देश दिएको छ । (लेखक थापा पत्रकारिताका विद्यार्थी हुन्)
प्रतिक्रिया