वीरगञ्जमा बालबालिकाका लागि निःशुल्क स्वास्थ्य शिविर, बाल रोग विशेषज्ञ डा.शाहले सेवा दिँदै

विहीबार, १८ भदौ २०८३, १२ : १०

वीरगञ्ज– सडक विस्तार र लगातारको वर्षाका कारण बालबालिकामा देखिएको स्वास्थ्य समस्याको दीर्घकालीन असर रोक्ने उद्देश्यले आउँदो शनिबार वीरगञ्जमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना हुने भएको छ।

बाल रोग विशेषज्ञ डा। राजकुमार शाहले रानीघाटस्थित मसला गल्लीमा रहेको आफ्नै निजी क्लिनिकमा बिहान ९ बजेदेखि साँझ ८ बजेसम्म शिविर सञ्चालन गर्ने जानकारी दिएका छन्।

शिविरमा रुघा, खोकी, ज्वरो, पखाला, शारीरिक वृद्धिमा कमी लगायत बालबालिकासँग सम्बन्धित सम्पूर्ण रोगको निःशुल्क परीक्षण गरिनेछ। बारा, पर्सा र सीमावर्ती क्षेत्रका बालबालिकालाई लक्षित गरी यो सेवा सञ्चालन गरिने डा. शाहले बताए।

वर्षाका कारण उत्पन्न सरसफाइ र स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै समयमै उपचार गरेर जटिलता हुन नदिनु शिविरको मुख्य उद्देश्य रहेको उनले बताए।

हाल देशका विभिन्न स्थानमा बाढी र पहिरोले धनजनको क्षति पुर्‍याइरहेको बेला युवा चिकित्सकले गरेको यो एकल प्रयास सराहनीय रहेको स्थानीयहरूले बताएका छन्।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बाल रोग विशेषज्ञता हासिल गरेका डा। शाह छोटो समयमै आफ्नो सेवाका कारण वीरगञ्ज र आसपासमा परिचित बनिसकेका छन्।

इच्छुक अभिभावकहरूलाई तोकिएको समयभित्र क्लिनिकमा उपस्थित भई सेवा लिन आग्रह गरिएको छ।

विहीबार, १८ भदौ २०८३, १२ : १०

प्रतिक्रिया