काठमाडौं - तुलसीपुर कारागारका कैदीबन्दीहरुले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि ६० हजार २० रुपैयाँ सहयोग गरेका छन् ।
कैदीबन्दीहरुले स्वेच्छिकरुपमा संकलन गरेको उक्त रकम बुधबार प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी हस्तान्तरण गरिएको हो । कारागार कार्यालय तुलसीपुरका प्रमुख गिरबहादुर सिजवालका अनुसार ‘क’ ब्लकका चौकीदार शक्तिराम वलीले २९ हजार ५ सय ४५, ‘ख’ ब्लकका चौकीदार अमृत वलीले १० हजार ६ सय ७५ र ‘ग’ ब्लकका चौकीदार रुक्सार राईले १० हजार ८ सय रुपैयाँ हस्तान्तरण गरेका थिए ।
प्रजिअले विपत्को समयमा कैदीबन्दीहरुले गरेको सहयोग मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरणीय कार्य भएको बताए । उनले राहतका लागि एकद्वार प्रणालीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सबैलाई आग्रहसमेत गरे ।
प्रतिक्रिया