काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी–त्रिशूली करिडोरका जलविद्युत आयोजनाका सुरुङभित्र फसेकाहरूको उद्धारमा प्राविधिक तथा भौगोलिक कठिनाइका कारण ढिलाइ भइरहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले बाढीसँगै आएको लेदो र माटोले सुरुङ पूर्ण रूपमा थुनिएकाले उद्धार चुनौतीपूर्ण बनेको जानकारी दिए । उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको तथा भारत, चीन र कोरियाका प्राविधिक विज्ञसँग समेत समन्वय भइरहेको उनले बताए ।
प्रधानमन्त्री शाहले सुरुङभित्र फसेकाहरूको उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
उनका अनुसार बाढीबाट भोटेकोशी–त्रिशूली करिडोरका आठ सञ्चालित र चार निर्माणाधीन जलविद्युत आयोजना प्रभावित भएका छन् । बाढीका कारण ४ हजार ३१.१ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको उनले जानकारी दिए ।
नुवाकोटमा ८५ प्रतिशत, धादिङमा ९८ प्रतिशत र रसुवामा ४० प्रतिशत विद्युत् सेवा पुनःस्थापना भएको प्रधानमन्त्री शाहले बताए ।
प्रतिक्रिया