काठमाडौं - भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिको एकीन तथ्यांक अहिलेसम्म आउन सकेको छैन । तर उक्त बाढीको असर बिमा क्षेत्रमा उल्लेख्य रुपमा परेको देखिएको छ । जसको प्रारम्भिक बिमा दाबी २५ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी पुगेको छ।
नेपाल बिमा प्राधिकरणका अनुसार भदौ १५ गतेसम्म १५ वटा बिमा कम्पनीमा २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ बराबरको अनुमानित दाबी परेको हो।
सबैभन्दा ठूलो दाबी ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ। ८ जना बीमितले मात्रै करिब १३ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक दाबी गरेका छन्।
त्यसपछि युनाइटेड अजोडमा ३८ बीमितको ४ अर्ब ९७ करोड, सानिमा जीआईसीमा १०२ बीमितको २ अर्ब १० करोड, सिद्धार्थ प्रिमियरमा ६७ बीमितको १ अर्ब ८८ करोड र शिखर इन्स्योरेन्समा १२७ बीमितको १ अर्ब ८७ करोड रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।
अन्य कम्पनीतर्फ हिमालयन एभरेष्टमा ४५ बीमितले ६४ करोड, नेकोमा ६६ बीमितले ५१ करोड, सगरमाथा लुम्बिनीमा ३२ बीमितले २४ करोड, नेपाल इन्स्योरेन्समा ३२ बीमितले २३ करोड र आईजीआई प्रुडेन्सियलमा २६ बीमितले १८ करोड रुपैयाँ दाबी गरेका छन्।
यस्तै एनएलजीमा २१ बीमितको ११ करोड, प्रभुमा १४ बीमितको ३ करोड, राष्ट्रिय बीमा कम्पनीमा २ बीमितको ७६ लाख, नेसनल इन्स्योरेन्समा २ बीमितको ५३ लाख तथा नेपाल माइक्रो इन्स्योरेन्समा एक बीमितको ५ लाख रुपैयाँ बराबरको अनुमानित दाबी परेको प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया