काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको हो।
भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै कम्पनीले दुःख व्यक्त गरेको छ।
बाढी र डुबानका कारण सयौं नागरिकले ज्यान गुमाउनुपरेको, कैयौं बेपत्ता भएको तथा बस्ती र पूर्वाधारमा क्षति पुग्दा सयौं परिवार विस्थापित हुनुपरेको कम्पनीले जनाएको छ।
प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि नेपाल सरकार, सुरक्षा निकाय तथा स्थानीय संघसंस्थाले गरिरहेको प्रयासमा ऐक्यबद्धता जनाउँदै आर्थिक सहयोग गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार उक्त सहयोगबाट बाढी प्रभावितको खोज तथा उद्धार, खाद्यान्न व्यवस्थापन, स्वास्थ्य उपचार तथा पुनःस्थापनाका कार्यमा थप सहयोग पुग्ने विश्वास गरिएको छ। आईएमई लाइफले स्थापनाकालदेखि नै प्राकृतिक विपद्, राष्ट्रिय संकट तथा महामारीका समयमा सहयोग गर्दै आएको जनाएको छ।
कम्पनीले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ताको शीघ्र खोजी तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।
प्रतिक्रिया