नेशनल लाइफ इन्स्योरेन्सले विपद् उद्धार कोषमा १ करोड ५१ लाख दियो

मंगलबार, १६ भदौ २०८३, १२ : २६

काठमाडौं– भोटेकोशी र त्रिशूली नदीमा आएको गेग्रानसहितको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

सहयोग रकम बराबरको चेक कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको गेग्रानसहितको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाएको छ।

अप्रत्याशित प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिले कम्पनी परिवारलाई अत्यन्त दुःखी बनाएको जनाउँदै नेशनल लाइफले आफ्ना कर्मचारी तथा अभिकर्ताहरूलाई उद्धार तथा राहत कार्यमा जुट्न आग्रह गरेको छ।

कम्पनीले बाढीमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

मंगलबार, १६ भदौ २०८३, १२ : २६

प्रतिक्रिया