काठमाडौं- बाढीपहिरोका कारण रसुवाका विभिन्न क्षेत्रमा खानेपानीको अभाव भएपछि राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघले खानेपानी व्यवस्थापनमा पहल थालेको छ ।
महासंघका अध्यक्ष खेमराज ओली तथा सल्लाहकारद्वय चोकप्रसाद धिताल र शंकर गौतमले व्यक्तिगत खर्चमा करिब ७५ हजार रुपैयाँ बराबरका हिलट्यांकी उपलब्ध गराएका छन् । ती ट्यांकी बाढीबाट प्रभावित ६ स्थानमा राखी सामूहिक रूपमा खानेपानी उपलब्ध गराइएको महासंघले जनाएको छ ।
खानेपानी व्यवस्थापनमा विद्धुर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष सञ्जीव श्रेष्ठको नेतृत्वमा रहेको टोली तथा कर्मचारीहरूले समेत सहयोग गरेका छन् ।
महासंघको आग्रहपछि लेखनाथ, टीकापुर, खलंगा–शीतलपाटी, कावासोती, प्रगतिनगर, सिरिचौर, बेनी, मुसिकोट–खलंगा र अँधेरीखोलालगायत खानेपानी उपभोक्ता संस्थाहरू पनि राहत तथा सहयोग अभियानमा जोडिएका छन् ।
महासंघले देशभरका खानेपानी उपभोक्ता संस्थालाई आफ्नो क्षमताअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद वा आवश्यक जिन्सी सामग्री सहयोग गर्न आग्रह गरेको छ । प्राप्त सहयोगको विवरण संकलन गरी सार्वजनिक गरिने महासंघले जनाएको छ ।
महासंघले विपद्का बेला सामाजिक सञ्जालमा सहानुभूति मात्र नभई व्यवहारमै सहयोग गर्न सबै जिम्मेवार व्यक्ति तथा संस्थालाई आग्रह गरेको छ ।
प्रतिक्रिया