नुवाकोट- त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्रबाट जीवितै उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।
३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जनलाई शुक्रबार उद्धार गरिएको हो । साह आयोजनामा मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए ।
उद्धारपछि गरिएको प्रारम्भिक स्वास्थ्य परीक्षणमा दुवै जनाको अवस्था सामान्य रहेको पाइएको छ । थप स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारका लागि उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो ।
बाढी आएको १० औँ दिनमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले उनीहरूलाई सुरुङभित्रबाट जीवितै उद्धार गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार सुरुङभित्रबाट अझै आवाज सुनिएकाले संयुक्त उद्धार टोली पुनः सुरुङभित्र प्रवेश गरेको छ । सुरुङभित्र थप व्यक्तिहरू जीवित हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ ।
प्रतिक्रिया