काठमाडौं- नेपाल राष्ट्र बैंक कर्मचारी संगठनले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने भएको छ ।
संगठनको केन्द्रीय समितिले भदौ १८ गते गरेको निर्णयअनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगस्वरूप प्रदान गर्ने निर्णय गरिएको हो ।
संगठनले चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा भएको अपूरणीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
संगठनले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, विपत्तिमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन भएका पीडितहरू छिट्टै आफन्तको सम्पर्कमा आउने आशा व्यक्त गरेको छ ।
बाढीबाट बैंक, बीमा तथा अन्य वित्तीय संस्था, सरकारी कर्मचारी, सुरक्षाकर्मी, विद्यार्थी तथा सर्वसाधारण प्रत्यक्ष रूपमा प्रभावित भएको संगठनले जनाएको छ । विभिन्न वित्तीय संस्थाका कार्यालय, जलविद्युत् आयोजना, भौतिक संरचना तथा सम्पत्तिमा समेत ठूलो क्षति पुगेको उल्लेख गर्दै संगठनले विपद्को कठिन घडीमा प्रभावितको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षसँग समन्वय र सहकार्य गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
संगठनले बाढी प्रभावित नागरिकको यथाशीघ्र लगत संकलन, तत्काल राहत वितरण, घाइतेको निःशुल्क उपचार, आवास व्यवस्थापन तथा पूर्वाधार निर्माणमा तदारुकता देखाउन सरकारसँग आग्रहसमेत गरेको छ । भविष्यमा हुनसक्ने महामारी, खाद्य संकट तथा अन्य सम्भावित जोखिमप्रति सजग रहन सम्पूर्ण नागरिक तथा तीनै तहका सरकारलाई आग्रह गरिएको छ ।
संगठनका सचिव हरि प्रसाद अर्याल र अध्यक्ष कृष्ण के।सी। द्वारा जारी विज्ञप्तिमा यस्तो सहयोगको निर्णय गरिएको जानकारी दिइएको हो ।
प्रतिक्रिया