काठमाडौं - भदौ १० गते आएको विनाशकारी बाढीको असर मुलुकको समग्र क्षेत्रमा परेको छ । इतिहासमै नभएको ठूलो भौतिक संरचनाको क्षति र मानवीय क्षेतिको त हिसाबै छैन । बाढीको प्रत्यक्ष असर दैनिक उपभोग्य वस्तुमा समेत परेको छ । भोटेकोशी र त्रिशूलीको बाढीपछि नागढुंगा–मुग्लिन र नागढुंगा–नौबिसे सडक भासिँदा काठमाडौंको आपूर्ति प्रणाली प्रभावित भएको छ ।
आपूर्ति अवरुद्ध भएपछि काठमाडौंमा चामल, चिनी, खानेतेल, तरकारी र फलफूलको मूल्य बढेको व्यापारीहरूले बताएका छन् ।
सडक अवरुद्धसँगै उपत्यकामा खाना पकाउने ग्यासको अभाव चुलिएको छ, र मन्त्रालयले १६ टोलीमध्ये १० टोली बजार अनुगमनमा खटाएको छ ।
बाढी र कटानका कारण उपत्यका भित्रिने मुख्य सडकहरू भासिँदा र मालवाहक गाडी बाटैमा रोकिँदा काठमाडौंमा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रणाली प्रभावित भएको हो । यही कारण बजारमा खाद्यान्न, खानेतेल, हरियो तरकारी, फलफूल लगायत दैनिक अत्यावश्यक वस्तुको मूल्य आकासिएको छ ।
आइतबारदेखि नै मालवाहक सवारी काठमाडौं भित्रिन र बाहिरिन नपाउँदा बजारमा सामान आपूर्ति प्रभावित भएको हो । उपभोक्ताले बजारमा अभाव हुने हो कि भनेर खाद्यान्नको जोहो गर्न थालिसकेका छन् ।
बाटो बन्द भएको बहानामा थोक व्यापारीले भइरहेको सामान पनि लुकाउन थालेपछि खुद्रा बजारमा महँगी बढेको उपभोक्ताले आरोप लगाएका छन् ।
त्यस्तै चामल र खानेतेलको मूल्यमा पनि अचाक्ली वृद्धि भएको छ । बजारमा सबैथरी चामलको मूल्य प्रतिबोरा कम्तीमा २ सयदेखि ३ सय रुपैयाँसम्म बढेको छ । पहिले २ हजार ४ सय रुपैयाँ पर्ने २० किलोको जिरा मसिनो चामलको मूल्य अहिले २ हजार ६ सयदेखि २ हजार ७ सय रुपैयाँसम्म पुगेको छ ।
सनफ्लावर तेलको मूल्य ब्रान्ड अनुसार प्रतिलिटर ३ सयदेखि ३ सय ५० रुपैयाँ र तोरीको तेल ४ सय रुपैयाँ हाराहारी पुगेको व्यापारीको दाबी छ । दाल र गेडागुडीको मूल्य भने अहिलेसम्म बढिसकेको छैन, तर बाटो खुल्ने समय लम्बिँदै गए त्यसको मूल्य पनि बढ्ने व्यापारीहरू बताउँछन् ।
नेपाल खुद्रा व्यापार संघका अनुसार चिनी, खानेतेल, चामल, लगायत वस्तुको मूल्य पहिलेदेखि नै महँगो नै रहेको र देशमा अप्रत्याशित आएको विपत्तिले झनै असर पार्न थालेको छ ।
बाढीपहिरोका कारण सडक अवरुद्ध भए पनि काठमाडौं उपत्यकामा तत्काल खाद्यान्न अभाव नरहेको संघले जनाएको छ । यद्यपि, केही दिनपछि बजारमा यसको असर अझै चुलिन सक्ने र विशेषगरी थोक व्यापारीले सही बिल नदिँदा चिनीको व्यापारमै समस्या आएको संघको भनाइ छ ।
सडक अवरुद्ध हुँदा उपत्यकामा खाना पकाउने ग्याससमेत चरम अभाव सुरु भइसकेको छ । पहिलेदेखि नै अभाव रहेको ग्यास राजमार्ग अवरुद्ध हुँदा अझै चुलिँदै गएको छ । डिपोहरूमा ग्यास नभएको भन्दै उपभोक्ता रित्तो सिलिन्डर बोकेर भौँतारिन बाध्य छन् ।
काठमाडौं उपत्यकाका प्रत्येक डिलरमा ग्यासको लाइन लागेको छ । अहिले नेपाल आयल निगमले वैकल्पिक मार्गबाट ग्यास ल्याउन लागेको छ ।
एउटा संकट भैरहेकोबेला व्यापारीहरुले बजारमा कृत्रिम अभाव सिर्जना गरेर अर्को संकट निम्त्याउने खतरा पनि हुन्छ । त्यसैले सरकारले नियमित अनुगमनका अतिरिक्त उपभोक्ताबाट आएका गुनासाका आधारमा पनि टोलीले खटाएर पनि काम गर्न आवश्यक हुन्छ । विशेषगरी बजारमा खाना पकाउने ग्यास अभाव भएको गुनासो सबैतिरबाट आउन थालेको छ । सरकारले यसतर्फ पनि गम्भीर ध्यान देओुस् ।
‘
प्रतिक्रिया