काठमाडौं - नेपाली हरुको महान् चाड दशैंमा बढेको महंगी कायमै छ । यो घट्ने कुनै संकेत छैन । अहिलेसम्म बढेको महंगी घटेको पनि छैन । यसपालीको दशैं त विगतका वर्षहरूको भन्दा पनि धेरै नै महँगो भयो । बजार अहिले महँगिएको छ । पछि फेरि सामान्य अवस्थामा आउला भन्ने नसोचे पनि हुन्छ । त्यसकारण पनि बढ्दो महँगीप्रति आम नागरिक अहिले त पीडित छन् नै यो दीर्घकालीन हुने खतराप्रति विज्ञहरूले चिन्ता प्रकट गरेका हुनुपर्छ ।
अहिले फ्रान्समा देखिएको तनावको प्रमुख कारण महँगी नै हो । महँगीको विरोध गर्दा ठूलो जनधनको क्षति भएको स्थिति छ । यो कसरी साम्य होला भन्ने कसैले बताउन पनि सकेका छैनन् । झण्डैझण्डै नेपालमा एकवर्षअघिको जेनजी आन्दोलनका क्रममा भएका क्षतिहरूजस्तै स्थिति छ । त्यसकारण पनि सरकारले महँगीले असामान्य रुपले नलेओस् भन्नुपरेको हुनुपर्छ । नयाँ सरकार सत्तामा आएको पनि ६ महिना पुरा भैसकेको छ । सरकार सम्हाल्दा सय दिनमै परिवर्तनको छनक दिने बताएको रास्वपा अहिले रमिता हेरेर बसेको छ । सरकारी संयन्त्र महँगी नियन्त्रण गर्न पूर्ण रुपमा विफल भएको छ । सरकार केवल स्टन्टबाजीमै रमाएको देखिन्छ ।
दशैँपछि तिहार, छठ, नेपाल संवत् जस्ता चाड नेपाली नागरिकका दैलोमा आइसकेको छ । यी चाडपर्वको मुखमा महँगी भने तेब्बर चौबरले बढ्दै गएको देखिन्छ । अभाव पनि उस्तै छ । जस्तो छ महिनाअघिदेखि नै भात पकाउने ग्यासको अभाव भएको हो । यसमा व्यवस्थापन गर्न नसकेको भनेर मन्त्री फेरियो तर अभाव भने कम भएन । नयाँ मन्त्रीले त आउनासाथै भनिदिए, यो हाम्रा कारणले भएको होइन । तर अभावको कारक भने सरकारले व्यवस्थापन गर्न नसक्नु नै हो । किनभने जहाँबाट ग्यास आउनुपर्ने हो त्यो देश भारतले जति पनि दिने भनिरहेको छ तर फेरि त्यही देशले नदिएको भनेर हामी उपभोक्तालाई ढाँटिनै रहेका छौं । महगी कति बढेको छ भनेर सरकारी निकायले नै भनेका हुन् ।
सरकारी तथ्यांकहरुले नै अहिले महँगी गत वर्षभन्दा दोब्बर भएको देखाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांकले विगतका वर्षहरूको तुलनामा यो वर्ष महँगी निकै बढेको पुष्टि गरेको छ । उक्त तथ्यांक अनुसार २०८२ चैत्र १३ गते अघि आव २०८२/८३ फागुनसम्मको तथ्यांकमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् महँगी ३.६२ प्रतिशत थियो । २०८२ चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.४७ प्रतिशतमा रहृयो ।
चाडपर्वको मुखमा महँगी झन् चुलिएको अवस्थालाई सरकारले नजरअन्दाज गरेको यो एउटा नमुना नै हुनुपर्छ । राष्ट्र बैंकको तथ्यांकले नै चालू आवको दुई महिनासम्ममा वार्षिक विन्दुगत उपभोक्ता महँगी ६.३४ प्रतिशत पुगेको देखाएको छ भने सरकारले त्यसको रोकथामका लागि ठोस कदम चाल्नुपर्ने हुन्थ्यो । त्यस्तो केही भएन । बरु नागरिकले उपभोग गर्नुपर्ने वस्तुमा लगाइएको कर हटाउने भनेर प्रधानमन्त्री आफैंले बताएका कुरा पनि कार्यान्वयनमा आएका छैनन् । त्यसको उदाहरण बिजुलीमा लगाइएको भ्याट हो । जो बजेट आएको महिनादेखि बिल तिरिरएको पछिल्लो महिनासम्म कायमै छ ।
अब तिहार नजिकै छ । यतिबेला बढी खपत हुने वस्तु घ्यू, तेल, फलफूल दाल चामल आदि हुन् । मासुको मूल्य त कति हो भन्ने कसैले पनि अनुमान गर्ने अवस्था छैन । भदौ महिनामा खाद्य तथा पेय पदार्थ समूहको सूचकांक अघिल्लो वर्षको सोही महिनाको तुलनामा ७.५४ प्रतिशतले वृद्धि भएको छ । चिनी तथा चिनीजन्य वस्तुको पनि एकैपटक १२.१४ प्रतिशत वृद्धि भयो । विनाकारण महँगी यसरी नै बढ्यो भने फ्रान्सको अवस्था यहाँ पनि नआउला भन्न सकिदैन । त्यसैले सरकार बेलैमा सचेत होस् ।
प्रतिक्रिया