अपडेट

कृष्णभीरमा सडक अवरुद्ध भएपछि उपत्यकामा ग्यास अभाव, वैकल्पिक मार्गबाट आपूर्तिको तयारी

विहीबार, १८ भदौ २०८३, ०६ : ३२

काठमाडौं- पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि प्रभावित बनेको काठमाडौं उपत्यकाको एलपी ग्यास आपूर्ति भोलिदेखि सहज हुने भएको छ। वैकल्पिक सडकमार्ग प्रयोग गरी तराईका विभिन्न ग्यास उद्योगबाट भरिभराउ सिलिन्डरसहितका ट्रक काठमाडौं भित्र्याउने तयारी गरिएको छ।

गत भदौ १४ गते त्रिशूली नदीले कृष्णभीरमा करिब २० मिटर सडक कटान गरेपछि राजमार्गको आधाभन्दा बढी भाग भासिएको थियो। त्यसपछि उक्त खण्डमा आवागमन प्रभावित हुँदा काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति शृङ्खला अस्तव्यस्त बनेको थियो।

ग्यास आपूर्ति सहज बनाउन बुधबार मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको संयोजकत्वमा नेपाल एलपी ग्यास उद्योग संघअन्तर्गतका उद्योगी तथा नारायणी यातायात व्यवसायी संघका प्रतिनिधिबीच छलफल भएको थियो। छलफलपछि ग्यास ढुवानीका लागि द्विपक्षीय सहमति गर्दै स्पष्ट भाडादरसमेत निर्धारण गरिएको छ।

सहमति अनुसार उपत्यकामा ग्यास ढुवानीका लागि त्रिभुवन राजपथ र कान्ति राजपथ हुँदै वैकल्पिक सडकमार्गलाई प्राथमिकता दिइनेछ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार त्रिभुवन राजपथ हुँदै उपत्यकातर्फ पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन सञ्चालन भइरहेका छन्। उद्योगी–व्यवसायीले १२ चक्के ट्रकलाई समेत सञ्चालन अनुमति दिन माग गरे पनि सडकको क्षमता कम भएकाले हाल साना क्षमताका सवारीसाधनलाई मात्र आवागमनको अनुमति दिइएको छ।

उनका अनुसार उद्योगी–व्यवसायी तथा प्राविधिक टोलीले सडकको अवस्था निरीक्षण गरेपछि १२ चक्के ट्रक सञ्चालन गर्न दिने वा नदिनेबारे निर्णय गरिनेछ। अहिले १० चक्के ट्रकमार्फत ग्यास काठमाडौं पठाइरहेको र उपत्यकातर्फ जाने सवारीसाधनलाई रोकावट नभएको उनले बताए।

कान्ति लोकपथको अवस्थाबारे उद्योगी–व्यवसायी र प्राविधिक टोलीले आज र भोलि अध्ययन गर्ने तथा त्यसको प्रतिवेदनका आधारमा १२ चक्के ट्रक सञ्चालनको अनुमति दिने वा नदिने निर्णय प्रशासनले गर्ने जनाएको छ।

प्रजिअ अधिकारीका अनुसार १० चक्के ट्रकबाट करिब ४०० सिलिन्डरसम्म ग्यास ढुवानी गर्न समस्या छैन। त्यसैले हाल सोही क्षमताका ट्रकबाट ग्यास उपत्यकामा पठाउने काम भइरहेको छ।

काठमाडौं उपत्यका र आसपासका जिल्लामा दैनिक करिब ४० हजार सिलिन्डर एलपी ग्यास खपत हुने गरेको छ। आपूर्ति संकटलाई ध्यानमा राख्दै हेटौंडास्थित सहारा ग्यास उद्योगलाई तीन सिफ्टमा विभाजन गरी चौबीसै घण्टा सञ्चालनमा ल्याइएको छ।

त्यस्तै, मकवानपुर, चितवन, नवलपरासी, बारा र पर्सामा रहेका अन्य ग्यास रिफिलिङ उद्योगलाई समेत पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी गरिएको छ। यसबाट उत्पादन एकै क्षेत्रमा थुप्रिने र अर्को क्षेत्रमा अभाव हुने अवस्था न्यूनीकरण हुने अपेक्षा गरिएको छ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार अहिले १० चक्के ट्रकमार्फत केही मात्रामा ग्यास उपत्यकामा भित्रिरहेको भए पनि मागअनुसार पर्याप्त आपूर्ति हुन सकेको छैन। उनका अनुसार भोलिदेखि तराईका विभिन्न ग्यास उद्योगबाट करिब १०० वटा १० चक्के ट्रक ग्यास लिएर काठमाडौं प्रवेश गर्नेछन्।

यद्यपि, वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा लागत बढ्न सक्ने भएकाले उपभोक्ता मूल्यमा त्यसको प्रभाव पर्ने वा नपर्ने विषयमा अझै स्पष्टता छैन।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ग्यासको मूल्य तथा ढुवानी लागत व्यवसायीले आफूखुसी निर्धारण गर्न पाउने अवस्था छैन। निगमले उद्योगदेखि ५० किलोमिटरसम्मको ग्यासको मूल्य निर्धारण गर्ने कानुनी व्यवस्था रहेको उनले बताए।

५० किलोमिटरभन्दा बढीको दूरीमा भने ढुवानी लागत जोडेर बिक्री वितरण गर्ने व्यवस्था रहेको भन्दै ठाकुरले हाल उपत्यकामा ग्यासको मूल्य बढ्ने वा यथावत् रहनेबारे निगमलाई आधिकारिक जानकारी प्राप्त नभएको बताए।

यसरी वैकल्पिक सडकमार्गबाट ठूलो परिमाणमा ग्यास भित्र्याउने तयारीसँगै केही दिनदेखि देखिएको काठमाडौं उपत्यकाको एलपी ग्यास अभाव क्रमशः सहज हुने अपेक्षा गरिएको छ।

विहीबार, १८ भदौ २०८३, ०६ : ३२

प्रतिक्रिया