एजेन्सी - अमेरिकी कारागारमा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसले आफूमाथि लागेको लागुऔषध तस्करीसम्बन्धी अभियोग सार्वभौम प्रतिरक्षाका आधारमा खारेज गर्न अमेरिकी अदालतसमक्ष माग गरेका छन्।
मदुरोका वकिलहरूले म्यानहट्टनस्थित सङ्घीय अदालतमा बुधबार दायर निवेदनमा आरोप लगाइएको समयमा आफ्नै देशले राष्ट्रप्रमुखका रूपमा मान्यता दिएको विदेशी नेताविरुद्ध अमेरिकी अदालतमा आपराधिक मुद्दा चलाउन नमिल्ने तर्क गरेका छन्।
उनीहरूले राष्ट्रप्रमुखलाई विदेशी राष्ट्रिय अदालतको आपराधिक कारबाहीबाट उन्मुक्ति प्राप्त हुने अन्तर्राष्ट्रिय कानूनी परम्परा रहेको जिकिर गरेका छन्।
मदुरोले आफूमाथिका आरोप अस्वीकार गरेका छन् । मदुरो र फ्लोरेसले आफूहरू दोषी नभएको बताउँदै आएका छन्। अमेरिकी अभियोजकहरूले भने मदुरोले भेनेजुएलाका लागुऔषध तस्करलाई सहयोग गर्दै हजारौं टन कोकेन अमेरिका पठाउने षड्यन्त्र गरेको आरोप लगाएका छन्। अभियोग प्रमाणित भएमा उनीहरूलाई आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ।
अमेरिकी सेनाले जनवरीको सुरुआतमा काराकासस्थित निवासबाट मदुरो र फ्लोरेसलाई नियन्त्रणमा लिएर न्युयोर्क ल्याएको थियो। हाल दुवै ब्रुकलिनस्थित कारागारमा छन्। ट्रम्प प्रशासनले उक्त कारबाहीलाई कानून कार्यान्वयनको अभियान भनेको छ भने मदुरोले आफ्नो गिरफ्तारीलाई अपहरण भन्दै आफूलाई युद्धबन्दीका रूपमा प्रस्तुत गरेका छन् ।
प्रतिक्रिया