काठमाडौं - भदौ १० गते भोटेकोशी नदीमा आएको अकल्पनिय विनाशकारी बाढीले ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुर्यायो। यो प्राकृतिक प्रलयले कैयौँ बस्तीहरू उजाड पारेको छ भने भौतिक पूर्वाधार, सडक, र जलविद्युत आयोजनाहरूमा गम्भीर क्षति पुगेको छ। यो विपदबाट कुनै पनि उमेर समुहको व्यक्ति अछुतो रहन सकेन। बाल, युवा, ज्येष्ठ नागरिक सबैको पिडा उस्तै र उत्तिकै छ। मनोविज्ञहरुका अनुसार अरु उमेर समुहका भन्दा बालबालिकामा यस्ता विपद्को प्रभाव गहिरो हुन्छ।
रसुवा, धादिङ र नुवाकोटका धेरै विद्यालय बाढीले बगाएर बगर बनेका छन्। कयौँ बालबालिकाका बुबा आमा बेपत्ता वा मृत्यु भएका कारण उनीहरू टुहुरा र बेसहारा बनेका छन्। सयौँ बालबालिका घाइते र अङ्गभङ्ग भएका छन्। यतिबेला सयौँ बालबालिकाको बास बस्ने ठाउँ छैन। उनिहरुले न पेटभरि खान पाएका छन् न न्यानो कपडा लगाउन नै। विरामी परेका बालबालिकाले औषधोपचार पाउन सकेका छैनन्।
यस्तो अत्यन्तै संवेदनशील र संकटपूर्ण घडीमा पीडित बालबालिकाको उद्धार, राहत, र पुनर्स्थापनाका लागि राज्य, विभिन्न संघसंस्था र आम नागरिकले तत्काल गर्नुपर्ने प्रमुख कार्यहरूका साथै विपद्मा अन्य देशहरुले बालबालिकाको पक्षमा गरेका कामहरुका बारेमा केन्द्रित छ यो लेख।
अन्तराष्ट्रिय अभ्यास
विश्वका विभिन्न देशहरूले विपद्को समयमा बालबालिकाको राहत, सुरक्षा, शिक्षा र पुनर्स्थापनाका लागि अत्यन्तै प्रभावकारी र अनुकरणीय अभ्यासहरू अपनाएका छन्। केही उदाहरणहरु हेरौँ।
जापान भुकम्प गइरहने देश हो। भुकम्पबाट प्रभावित घरबार विहिन नागरिकलाई राखिएका अस्थायी शिविरमा बालबालिकाका लागि छुट्टै खेल्ने र सिक्ने सुरक्षित ठाउँको व्यवस्था गर्छ जापानले। विपद्को २४ देखि ४८ घण्टा भित्रै वैकल्पिक वा अस्थायी सिकाई केन्द्र स्थापना गरिन्छ। साथै बालबालिकाको मानसिक आघात कम गर्न सरकारी स्तरबाटै अनिवार्य मनोसामाजिक परामर्श कार्यक्रम संचालन गरिन्छ।
बङ्गलादेश समुन्द्रि बाढीबाट प्रताडित भइरहन्छ। कतिपय बेला लामो समयसम्म बाढीले दुख दिन्छ। यस्तो समयमा डुङ्गामै विद्यालय सञ्चालन गरी बालबालिकाको शिक्षालाई निरन्तरता दिइन्छ। यस्ता किसिमका विद्यालयलाई तैरने विद्यालय भनिन्छ बङ्गलादेशमा। विपद्को बेलामा गाउँगाउँमा बालबालिकालाई मात्र हेरचाह गर्न स्थानीय युवा र नागरिक सम्मिलित बाल सुरक्षा दस्ता गठन गरेर कृयाशिल बनाइन्छ।
फिलिपिन्समा यस्तो समयमा नगद सहयोग र बाल(केन्द्रित कृयाकलापमा जोड दिइन्छ। पीडित परिवारलाई बालबालिकाको खाना र शिक्षाका लागि सिधै नगद अनुदान दिने अभ्यास छ। विस्थापित विद्यार्थीलाई उनिहरु बसेका शिविरहरुमा तत्काल पुस्तक, झोला र स्टेसनरी सामग्री उपलव्ध गराइन्छ।
भियतनाममा बाढी पश्चात बालबालिकाको स्वास्थ्य, शिक्षा र मानसिक अवस्था समेतलाई ख्याल गर्दै उनिहरु रहेको शिविरमा नै स्वास्थकर्मी, मनोपरामर्शदाता र शिक्षकको व्यवस्था गरिन्छ।
भारतमा विपद्को समयमा ट्र्याक चाइल्ड पोर्टल मार्फत हराएका वा बेपत्ता भएका बालबालिकाको तत्काल अनलाइन खोजी र पहिचान गरिन्छ। बालबालिकाको ट्र्याकिङको साथै एकीकृत बाल विकास सेवा मार्फत गर्भवती महिला र ५ वर्षमुनिका बालबालिकालाई पोषिलो खानेकुरा, भिटामिन र आवश्यक औषधिको तत्काल राहत शिविरमा आपूर्ति गरिन्छ।
थाइल्याण्डमा बाढीले विद्यालय भवन नष्ट हुँदा वा विद्यालय जाने बाटो बन्द हुँदा शैक्षिक सामग्री र शिक्षक सहितको विशेष बस नै बालबालिका रहेको शिविरमा वा गाउँमा पुगेर पठन पाठनको व्यवस्था मिलाइन्छ। विपद्मा बालबालिकाको तस्करी वा श्रम शोषण हुनबाट रोक्न गाउँका अगुवा, स्वास्थ्य स्वयंसेविका र स्थानीय प्रहरी सम्मिलित समिति गठन गरी कृयाशिल गराइन्छ।
अमेरिकामा बाढीमा आमाबुबासँग बिछोडिएका बालबालिकालाई छिटो भेट्टाउन डिजीटल ट्रयाकिङको प्रयोग गरिन्छ। विस्थापित भएका विद्यार्थीलाई जुनसुकै क्षेत्रको नजिकैको विद्यालयमा सहजै स्थानान्तरण गर्ने परम्मरा छ अमेरिकामा। राहत शिविरहरूमा बालमैत्री वातावरणको निर्माण र खेल तथा उमेर समुह अनुसारको पाठ्य सामग्री तत्काल उपलव्ध गराइन्छ।
चीनले बाढी, पहिरो वा भूकम्पको समयमा बालबालिकाको उद्धार, राहत र शिक्षाको निरन्तरता लागि परिस्थिति अनुसार सम्पूर्ण विद्यालय नै स्थानान्तरण गर्नेगर्छ। जोखिम युक्त क्षेत्रका विद्यार्थी, शिक्षक र प्रशासनिक टोलीलाई तत्काल सुरक्षित छिमेकी सहर वा गाउँमा अस्थायी रूपमा स्थानान्तरण गरिन्छ।
उनीहरूको बस्ने, खाने र पढ्ने व्यवस्था सबै सरकारले नै मिलाउँछ। जसले गर्दा मानसिक आघातका बीच पनि बालबालिकाको सिकाई रोकिँदैन र शैक्षिक वर्ष खेर जादैँन्। बाढीपछि राहत शिविरमा फैलिने रोग र महामारीबाट बालबालिकालाई जोगाउन स्यानिटाइजर सहित स्वास्थ्य सामग्री सहितको किट तुरुन्तै वितरण गरिन्छ। साथै पाठ्यपुस्तक र स्टेसनरी उपलव्ध गराइन्छ। विपद्का कारण आमाबुबा वा आफन्त गुमाएका बालबालिकाका लागि मनोसामाजिक परामर्श समेत प्रदान गरिन्छ।
केही देशको अनुभव समेतलाई ख्याल गर्दै बाढीको प्रभावमा परेका रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका बालबालिकालाई तत्काल गर्नुपर्ने कामहरु तपसिल अनुसार हुनसक्छन्।
खाना, कपडा र ओतको व्यवस्थाः बाढी प्रभावित क्षेत्रका बालबालिकाहरू यतिबेला आधारभूत आवश्यकताबाट समेत वञ्चित छन्। त्यसैले पहिलो प्राथमिकता उनीहरूको ज्यान जोगाउनु र आधारभूत राहत उपलब्ध गराउनु हो। खुला आकाशमुनि वा जोखिम युक्त स्थानमा रहेका बालबालिका र तिनका परिवारलाई सुरक्षित गुम्बा, सामुदायिक भवन वा सुरक्षित शिविरहरूमा स्थानान्तरण गरी सुरक्षित बसोबासको ग्यारेन्टी गरिनुपर्छ। बालबालिकाका लागि आवश्यक खानेकुरा, दैनिक लगाउने लुगाकपडा र ओछ्यानको व्यवस्था या भनौ खाना, नाना र छाना राहतको पहिलो प्राथमिकतामा पर्नुपर्छ।
पीडित बालबालिकाको पहिचानः उद्धार र राहत सँगै बेपत्ता भएका परिवारका बालबालिका तथा टुहुरा भएका र घाइते बालबालिकाको वास्तविक पहिचान र तथ्याङ्क तत्काल संकलन अर्को महत्वपूर्ण कार्य हो। राहत वितरण र तथ्याङ्क संकलन जस्ता कार्यमा स्थानीय सरकारलाई जिम्मेवार बनाउनु उत्तम विकल्प हुन्छ। स्थानीय जनप्रतिनिधिले आफ्नो वडाका सबै घर, परिवार र व्यक्ति चिन्छन्। पीडित बालबालिकाको परिवार, उसको अवस्था, उसलाई आवश्यक सहयोगको किसिम आदि वडाका जनप्रतिनिधिले राम्रोसँग बुझेका हुन्छन्। जिल्ला प्रशासन, सङ्घीय र प्रदेश सरकारले अनुगमन गर्ने हो। स्थानीय तहले बदमासी गरेको पाइए त्यसको पर्दाफास गर्दै कमान्ड आफ्नो हातमा लिन सक्छ प्रदेश वा संघीय सरकारले।
बालबालिकाको सुरक्षा र संरक्षणः आफ्ना आमाबुबा गुमाएका वा बेपत्ता भएका बालबालिका शिविर भित्रै पनि असुरक्षित हुन सक्छन्। शिविरमा रहने व्यक्तिबाट यौन तथा शारीरिक हिँसा हुने संभावना प्रवल रहन्छ। यस्तो अवस्था आउन नदिन जनप्रतिनिधि, समाजका अगुवा तथा शिविरको व्यवस्थापन पक्षले विशेष ध्यान दिनुपर्छ।
यस समयमा बालबालिकाको संरक्षण गर्छु भन्दै मानव वेचविखन हुने उच्च जोखिम रहन्छ। आधिकारीक निकायको औपचारिक निर्णय नभै बालबालिकालाई कुनै पनि बालगृह वा अन्यत्र लैजान पूर्णतः निशेध गरिनुपर्छ। सम्भव भएसम्म उनीहरूका नजिकका नातेदारहरूको पहिचान गरी पारिवारिक वातावरणमा पालन पोषण तथा संरक्षण हुनु उपयुक्त हुन्छ।
अस्थायी सिकाइ केन्द्र संचालनः बाढीले धेरै विद्यालयका संरचनाहरू ध्वस्त पारेकाले बालबालिकाको भविष्य अन्योलमा परेको छ। शिक्षा पाउनु बालबालिकाको मौलिक हक भएकाले यसलाई रोकिनु हुँदैन। विद्यालय भवनहरू पुनर्निर्माण नभएसम्मका लागि सुरक्षित स्थानमा अस्थायी पाल वा प्रिफ्याबका टहराहरू बनाएर वैकल्पिक शिक्षण संस्था सञ्चालन गरिनुपर्छ।
शैक्षिक सामग्रीको उपलव्धताः बाढीमा पुस्तक, कापी र विद्यालय पोसाक गुमाएका विद्यार्थीहरूलाई सरकार तथा विभिन्न गैरसरकारी संस्थाहरूको सहयोगमा तत्काल शैक्षिक सामग्री उपलब्ध गराइ शिक्षण सिकाई प्रक्रिया संचालनमा जोड दिनुपर्छ। अस्थायी सिकाइ केन्द्र तत्काल संचालनमा ल्याउन नसकिने हो भने अस्थायी शिविहरुमा नै यी सामग्री उपलव्ध गराउन आवश्यक देखिन्छ।
स्वास्थ्य, पोषण र सरसफाइः विपत्ति पछि महामारी फैलिने र चिसोका कारण वस्तीहरुमा झाडापखाला र हैजा जस्ता रोग फैलन सक्छन्। यस्ता रोगबाट बालबालिकालाई बचाउन आकस्मिक स्वास्थ्य शिविर खडा गरी आधारभूत औषधि र महामारी विरुद्धको खोप सेवा दिँदा बालबालिका महामारीबाट बच्न सक्छन्। बाढी पीडित बसेको ठाउँमा लामखुट्टे सर्प आदिको टोकाइबाट बचाउन झुल लगायतको व्यवस्था गर्नु उपयुक्त हुन्छ। शिविर वरपर नियमित सरसफाइको व्यवस्था मिलाउनु पर्छ।
कलिला बालबालिका कुपोषणको जोखिममा हुने भएकाले उनीहरूका लागि तत्काल तयारी ल्याक्टोजेन, लिटो वा तयारी पोषिलो खानेकुराको व्यवस्थाको साथै दूध र स्वच्छ पिउने पानीको नियमित आपूर्ति आवश्यक हुन्छ। शिशुहरुले नियमित दिनुपर्ने खोप प्रदान गर्न तत्काल प्राथमिक स्वास्थ्य उपचार तथा औषधिको प्रबन्ध मिलाउनु आवश्यक देखिन्छ।
शिविरमा शिक्षकको व्यवस्थास् विपद्मा परेका बालबालिकाले आमाबुबा, घर, सम्पत्ति, आफन्त, छिमेकी, साथीभाइ सबै गुमाएका हुन सक्छन्। जसका कारण उनिहरु आत्तिने, डराउने, दुःखी हुने, ननिजाउने एक्लो महसुस गर्ने हुन सक्छन्। अझ आमाबाबु हराएकाहरु त उसको भविश्य सबै सकियो भनेर अप्रीय निर्णय गर्ने अवस्थामा पुग्न समेत बेर मान्दैनन्। शिक्षकहरु बालमनोविज्ञानका ज्ञाता हुन्छन्। त्यसैले यस्तो समयमा बालबालिकासँग बसेर कुरा गर्ने, उनिहरुका विचार ध्यान दिएर सुन्ने र उनिहरू एक्लै छैनन् भन्ने अनुभूति गराउने काम शिक्षकले गर्न सक्छन् ।
मनोपरामर्श कक्षा संचालनः आफ्ना अभिभावक गुमाउनु, घरबारविहीन हुनु र आफ्नैआँखा अगाडि प्राकृतिक प्रकोपको विभीषिका देख्नुले बालबालिकाको मस्तिष्कमा गहिरो मानसिक आघात पुर्याउँछ। उनीहरूलाई यो मानसिक पीडाबाट बाहिर निकाल्न मनोपरामर्शदाताको टोली परिचालन गरी नियमित मनोसामाजिक परामर्श सेवा दिनु अत्यन्त जरुरी छ। खेलकुद र रचनात्मक क्रियाकलापको माध्यमबाट पनि उनीहरूको ध्यान र सोचाइ सामान्य बनाउन सकिन्छ।
नगद सहयोगः कतिपय देशहरुले प्राकृतिक प्रकोपबाट अभिभावक, घर, जग्गा जमिन लगायत सम्पूर्ण सम्पत्ति गुमाएका बालबालिकाको नाममा नगद रकम जम्मा गर्ने गरेको पनि पाइन्छ। नेपालले पनि सबै चिज गुमाएका यस्ता बालबालिकाका नाममा बैंक खाता खोली राज्य र दाताहरूमार्फत निश्चित रकम जम्मा गरिदिने व्यवस्था मिलाउनु उपयुक्त नै देखिन्छ। यसरी जम्मा गरेको रकमको व्याजबाट उनीहरूको पठन पाठन देखि भविष्य सुरक्षित गर्न सहयोग पुग्दछ।
अन्तमा
भोटेकोशीको बाढीले सिर्जना गरेको यो संकट केवल विपत्ति मात्र होइन, मानवीय संवेदनशीलताको परीक्षा पनि हो। संकटको यो घडीमा सरकार, स्थानीय समुदाय, गैरसरकारी संस्था र नागरिक समाज एकजुट हुनुपर्छ। आजका बालबालिका देशका भोलिका कर्णधार हुन्। उनीहरूलाई भोक, रोग र अशिक्षाबाट बचाउनु हाम्रो सामूहिक कर्तव्य हो। तत्काल उद्धार र राहतसँगै उनीहरूको शिक्षा र सुरक्षित भविष्यका लागि ठोस पाइला चाल्न ढिलाइ गर्नुहुँदैन ।
प्रतिक्रिया