आज जस्तोसुकै भए पनि हामीसँग एउटा देश छ। यो देशले हामीलाई संसारभरि पहिचान दिएको छ। यसको इतिहास लामो छ र यो इतिहासको निर्माणमा धेरै बहादुरहरूको वीरताको कथा छ। तर आज हामीले दुःख पनि उत्तिकै पाएका छौँ। यो दुःखको कथा लेख्नमा पनि धेरै नालायकहरूको भूमिका छ। शासनमा नालायकहरूकै वर्चस्व रहँदै आएको छ।
१. नागरिकहरूको जीवनले सुख र शान्ति खोज्छ। हामीले इतिहासमा हाम्रो जमिन साम्राज्यवादीहरूले लुटेको बिर्सेका छैनौँ। तर पनि थोरै जमिनमै सही, हामीले विदेशीको गुलामी भोग्नुपरेन। हामी भारतलाई हेरौँ अनि चीनलाई हेरौँ। हाम्रो जमिन जोडिएका यी मुलुकहरूले आफ्नो स्वतन्त्रताका लागि कति नागरिकको ज्यान गुमाए? चीनमा जापानीहरूको अत्याचार र भारतमा ब्रिटिसको अत्याचारबाट कति नागरिकले ज्यान गुमाए? हामीले त्यही तहको दुःख त भोग्नुपरेन। सायद इतिहासमा त्यही दुःख भोग्नु नपरेकोले पो हो कि, हामीलाई देशको पीडा महसुस हुन छाडेको जस्तो छ।
हामी देशलाई— फोहोर बोल्ने मानिसहरूको देश, अश्लील कुरा गर्ने मानिसहरूको देश, अरूको पीडा नबुझ्ने मात्र होइन अरूलाई पीडा दिएर अरूकै पीडामा रमाउने मानिसहरूको देश, घृणा र आत्मदम्भ (नार्सिसिज्म) मा खुसी हुनेहरूको देश, मूर्खतालाई महानता देख्ने मानिसहरूको देश, भ्रष्ट र दुष्ट मानिसहरूको देश, एकता भत्किएको देश, विदेश पलायन हुनुलाई सफलता देख्नेहरूको देश, आफ्नो देश बिगारेर अरूको देश बनाउने मानिसहरूको देश र विदेशीको पैसा खाएर आफ्नै देशमा आगो लगाउने मानिसहरूको देश बनाइरहेका छौँ।
२. इतिहासमा हाम्रा पनि वीरहरू थिए। हामीले ती वीर र इतिहास दुवै बिर्सिएका छौँ। हामीले के बिर्सिएका छौँ भने इतिहास बिर्सिएर वर्तमान बनाउन सकिन्न। वर्तमानलाई ध्वस्त पारेर भविष्य बनाउन सकिन्न। हामी दिनदिनै हाम्रो वर्तमानमाथि रछ्यान फ्याँकिरहेका छौँ। हामी आफूबाहेक सबै 'हरामी' छन् भन्ने आत्मदम्भका रोगी बनेका छौँ। हामी आफ्नो उन्नति होइन, अरूको बर्बादीका लागि सक्रिय छौँ। हामी जे होइनौँ त्यो बनेका छौँ; हामी जे हौँ, त्यो लुकाएका छौँ। हामी अरूलाई डसेर रमाउँछौँ। किन हामी नेपाली समाजको अनुभवलाई धिक्कार्ने, पछाडि बसेर अगाडिको हाँगा काट्ने अनि लाजमर्नु किसिमले बाबु-दाजुलाई कालो दलेर आफू शुद्ध देखिने कसरत गर्ने बेइमान बन्दै छौँ? हाम्रो हृदय किन मरेको होला?
३. संसारले के देखाएको छ भने हरेक मानिसको आफ्नैपन हुन्छ। मानिस माटोसँग जोडिएको हुन्छ। मानिस माटोसँग जोडिएर आफ्नो मौलिक गुण (संस्कृति) बनाउँछ। आफ्नो सभ्यता बनाउँछ र सभ्यताले इतिहासको कदर गर्छ। तर हामी त इतिहासकै हत्या गर्न लागिपरेका छौँ।
४. एउटी श्रीमतीले आफ्नो श्रीमान्को खोजी गर्दा "तँलाई सुत्नका लागि पोइ चाहियो, पोइल जा" भन्ने छोरा कसरी जन्मायौँ? लास हेर्न परिवारले पाउन् भन्दा "एक-एकवटा लास पठाइदेऊ" भन्ने छोरी कसरी जन्मायौँ? क्रान्तिका नाममा सोझो मास्टर मार्ने र सिंहदरबारमा आगो लगाउने बुद्धि कहाँबाट सिक्यौँ?
५. सत्य के हो भने हामीले इतिहासलाई रछ्यानमा पुरिदियौँ। हामीले पहिचान सिकेनौँ, केवल दम्भ सिक्यौँ। यदि हामीले समाज चिनेको भए, इतिहास पढेको भए, हामी देशलाई चिन्थ्यौँ। हामी आफूमाथि गौरव गर्न सक्ने मानिस हुन्थ्यौँ। तर हामीले बाटो बिरायौँ। हामी भ्रम र दम्भको रोगले ग्रस्त भयौँ।
अतः समस्या सामाजिक सञ्जालमा होइन, हाम्रो सोच र खोटो नियतमा छ। के हामी कसैका प्यादा नबन्न सक्दैनौँ? के हामी मानव बन्न सक्दैनौँ? के हामी मरेका मानिसका सिक्री चुँड्ने मति फ्याँक्न सक्दैनौँ? के हामी बुद्धलाई मानेर हिंसाको वकालत गर्नु गलत हो भन्ने सिक्न सक्दैनौँ? के हामी हिन्दु भनेर मानिसमाथि छुवाछूत नगर्न सक्दैनौँ? सक्छौँ, अवश्य सक्छौँ। तर त्यसका लागि हामीले हाम्रो इतिहास र सभ्यता चिन्नुपर्छ, अनि मात्र सक्छौँ।
अहिले हामी सभ्यताहीन मानिसहरूको जत्थामा रूपान्तरण भएका छौँ। त्यसैले घृणा, परपीड़न, अश्लीलता र धोका हाम्रो जीवनशैली बनेको छ। हामीले यो प्रवृत्ति फेर्नुपर्छ, तब मात्र शासन राम्रो हुन्छ, देश साँच्चिकै स्वतन्त्र हुन्छ। तब मात्र हामी आफूलाई 'नेपाली' भन्न लायक हुन्छौँ। आज त हामी गैरनेपाली जस्ता बनेका छौँ। (प्रा.डा.युवराज संग्रौलाको फेसबुकबाट साभार)
प्रतिक्रिया