नाडामा यामाहा XSR155 को ४२८ बुकिङसँगै ‘बेस्ट स्टल अवार्ड’

आइतबार, २१ भदौ २०८३, १४ : ४०

काठमाडौं– यामाहाको बहुप्रतीक्षित XSR155 ले १८औँ नाडा अटो शो–गोल्डेन जुब्ली संस्करण २०२६ मा उत्साहजनक प्रतिक्रिया पाएको छ। छ दिनसम्म चलेको अटो शोमा XSR155 का ४२८ वटा बुकिङ भएका छन्।

नेपालमा यामाहा दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले ‘बर्न टु स्ट्यान्ड अपार्ट’ अभियान तथा ‘बिल्ट अन लेगेसी, ड्रिभन बाइ पर्फर्मेन्स’ उत्पादन दर्शनसहित XSR155 सार्वजनिक गरेको थियो।

अटो शोमा यामाहाले ‘बेस्ट स्टल अवार्ड’ समेत जितेको छ। नवीन अवधारणा, आकर्षक प्रस्तुति तथा आगन्तुकलाई प्रदान गरिएको अनुभवका आधारमा यामाहाको स्टललाई उक्त अवार्ड प्रदान गरिएको कम्पनीले जनाएको छ।

यामाहाको स्टलमा XSR155 को रेट्रो–आधुनिक डिजाइनलाई विशेष रूपमा प्रस्तुत गरिएको थियो। क्लासिक टियरड्रप फ्युल ट्याङ्क, गोलाकार एलईडी हेडलाइट तथा आधुनिक डिजाइनसहितको मोटरसाइकलले आगन्तुकको ध्यान आकर्षित गरेको थियो। अटो शोमा हजारौँ मोटरसाइकलप्रेमीले XSR155 लाई नजिकबाट हेर्ने तथा प्रत्यक्ष अनुभव गर्ने अवसर पाएका थिए।

मोटरसाइकल सार्वजनिक गर्ने क्रममा एमएडब्लु ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले यामाहाले पुस्तौँदेखि राइडरसँग कायम गर्दै आएको भावनात्मक सम्बन्धबारे चर्चा गरे। उनले यामाहाको ‘फास्टर सन्स’ दर्शनले विगतको गौरव र भविष्यको सम्भावनालाई जोड्ने बताए।

उनका अनुसार प्रतिष्ठित पुराना मोटरसाइकलबाट प्रेरणा लिँदै आधुनिक पुस्ताका राइडरको आवश्यकता र अपेक्षालाई ध्यानमा राखेर नयाँ पुस्ताका मोटरसाइकल विकास गर्नु ‘फास्टर सन्स’ दर्शनको मूल अवधारणा हो।

“आज हामी एउटा नयाँ मोटरसाइकललाई स्वागत गर्दैछौँ, तर योभन्दा पनि महत्त्वपूर्ण कुरा हामी एउटा विरासतलाई निरन्तरता दिइरहेका छौँ,” अग्रवालले भने।

उनले नेपालमा मोटरसाइकल आवागमनको साधन मात्र नभई राइडरको पहिचान, व्यक्तित्व र जीवनशैली अभिव्यक्त गर्ने माध्यम बन्दै गएको बताए। XSR155 ले नेपालको राइडिङ समुदायसँग बलियो भावनात्मक सम्बन्ध स्थापित गर्ने विश्वास पनि उनले व्यक्त गरे।

XSR155 प्रति ग्राहकको आकर्षण प्रि–बुकिङबाट समेत देखिएको कम्पनीको भनाइ छ। प्रि–बुकिङ गर्ने ग्राहकले नेपालमा XSR155 को पहिलो चरणका खरिदकर्ता बन्ने अवसर पाएका थिए।

रेट्रो डिजाइन, विरासतबाट प्रेरित शैली तथा आधुनिक विशेषताका कारण XSR155 लाई आफ्नो व्यक्तित्व र व्यक्तिगत शैली झल्काउन चाहने राइडरका लागि लक्षित मोटरसाइकलका रूपमा प्रस्तुत गरिएको छ।

एमएडब्लु राइड्स प्रालि नेपालमा यामाहा दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हो। कम्पनीले देशभर यामाहाका सवारीसाधन, प्रविधि तथा ग्राहक सेवामार्फत नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ।

आइतबार, २१ भदौ २०८३, १४ : ४०

प्रतिक्रिया