समाचार टिप्पणी

बबिताले फुटपाथमै बच्चा जन्माउँदा कहाँ थियो सरकार ?

विहीबार, २५ भदौ २०८३, १४ : २१

काठमाडौं - गत वर्ष भदौ २४ गते देश जलेपछि देशको साशनसत्तामा फेरबदल आयो । बालेन र सुधनहरुको सल्लाहमा मन्त्रीपपिरषद् बन्यो । त्यही सरकारले फागुन २१ गते निर्वाचन गरायो । निर्वाचनको दौरानमा भावि प्रधानमन्त्रीको रुप्मा प्रचार गरिएका बालेन्द्र साहले आफ्नो चुनावी ऐजेण्डा नै गरीबहरुलाई शिक्षा र स्वास्थ्य निःशुल्क हुने बताएको थिए । उनको ऐजेण्डामा जनताले विश्वास गरे र दुई तिहाई मत पनि दिएर सरकार बनाउने जनादेश दिए । 
सरकार बनेपछि भने प्रधानमन्त्री स्वयम् र सरकारको लक्षण तदनुसारको देखिएन । नागरिकहरु अभाव, महंगी र असुरक्षाको कारण प्रताडित बन्दै गए । आफ्नो शरीरमा आफै आगो लगाउन बाध्य भएका नागरिकको मनोदशा कुन तहमा पुगेको रहेछ भन्ने सहजै अनुमान गर्न सकिन्छ । सरकार राष्ट्रको स्वाधिनता र कुटनीतिक सम्बन्धमा त पूर्ण रुपमा विफल देखिन्छ । यतिबेला त नागरिकहरु कालोबजारी र दैनिक उपभोग्य बस्तुमा भएको मूल्यवृद्धिको कारण सरकारबिहीनताको अनुभव गरिरहेका छन् । त्यस अलावा आर्थिक अवस्था नितान्त कमजोर भएका भूईमान्छेहरुको दशा झन विकराल बनेको छ । त्यसको एउटा प्रतिनिधि घटना राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा देखिएको छ । अस्पतालले भर्ना नलिएपछि बबिता पासवानले फुटपाथमै छोरा जन्माएको घटनाले सबै नेपालीलाई स्तब्ध बनाएको हुनुपर्दछ ।  
पैसा नभएको भन्दै अस्पतालले २ हजार ५०० रुपैयाँको जाँच गराउन भनेपछि भर्ना नदिएको र हप्काएर निकालिएको पीडित बबिताको दाबी छ ।

सुत्केरी व्यथा लागेपछि ती महिला अस्पताल गएकी थिइन् । तर पैसा नभएका कारण अस्पतालले भर्ना लिन नमानेको र बाध्य भएर सडक पेटीमै बच्चा जन्माएको पीडित पक्षको दाबी छ ।

घटना बुधबार बिहान करिब साढे २ बजेको हो । पैसा नभएका कारण फुटपाथमै बच्चा जन्माउन विवश महिला राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवान हुन् ।

सरकारी अस्पताल अगाडि फुटपाथमा विपन्न महिला प्रसूति भएको भिडियो सार्वजनिक भएपछि सरकार र अस्पतालको चर्को आलोचना भइरहेको छ । दोषीलाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ ।

मंगलबार राति डेढ बजे व्यथा लागेपछि बबिता श्रीमान् हरेराम र दुई जना सासु नाता पर्ने महिलालाई लिएर सिटी रिक्सामा अस्पताल पुगेकी थिइन् । त्यहाँ पुगेपछि अस्पतालको प्रसूति विभागमा खटिएकी स्टाफ नर्सले पहिले अल्ट्रासाउन्ड, प्रयोगशालाबाट रगत र पिसाब परीक्षण गर्न भनिन् । त्यसका लागि २ हजार ५००रुपैयाँ लाग्ने अस्पतालले बताएको थियो ।

तर, आफू विपन्न रहेको र पैसा नभएको बबिताले सुनाइन् । उनले यसअघि आफ्ना तीन सन्तान सामान्य रूपमा जन्मिएको र कुनै चेकजाँच नगराएको बताइन् । तर नर्सले जाँच नभई यहाँ प्रसूति गराउन नमिल्ने भन्दै बाहिर निस्किन हप्काएको उनको दाबी छ ।

पैसा नभएका कारण जाँच गराउन नसकिने र अस्पतालले भर्ना नलिने भएपछि बाध्य भएर बबिता परिवारसहित अस्पताल बाहिर आइन् । उनी एक औषधि पसल अगाडि पुगिन् । त्यहाँ उनले औषधि पसलेलाई डाक्टरसँग चेक गराइदिन आग्रह गरिन् ।

औषधि पसलेले अहिले यहीँ बस्न भन्दै बिहान चिकित्सक आएपछि जाँच गराइदिने आश्वासन दिएको बबिताले सुनाइन् । केहीबेरपछि बबितालाई प्रसव पीडाले च्याप्यो । उनी त्यहीँ छट्पटाउन थालिन् । सँगै पुगेका महिलाले उनको देखभाल गरे । श्रीमान् तनावमा परे । तर उनीहरूसँग अर्को उपाय थिएन । एकछिनपछि बबिताले छोरा जन्माइन् ।

छोरा जन्माएपछि परिवारले सालनालसहितको शिशु बोकेर अस्पतालमा पुगे । तर पनि ती स्वास्थ्यकर्मीले भर्ना नलिएको बबिताको दाबी छ । बबिता छट्पटाइरहिन् ।

‘मसँगै जानुभएकी सासु पर्ने महिलाले यो खाली बेडमा सुत, जे हुन्छ हुन्छ भन्नुभयो । म सुत्न खोजेँ । तर पनि ती स्वास्थ्यकर्मी दिदीले यहाँबाट भाग, नभए धक्का दिएर निकालिदिन्छु भनेर धम्क्याउनुभयो । अनि हामी बाध्य भएर घर फर्कियौँ,’ बबिताले सुनाइन् ।

सार्वजनिक भएको भिडियोमा महिला फुटपाथमा प्रसव पीडाले छट्पटाइरहेको देखिन्छ । उनका आफन्त एक महिला र पुरुष पनि देखिन्छन् । उनीहरूले महिलाको स्याहारसुसार गरिरहेका छन् । केहीबेरपछि त्यहीँ उनले बच्चा जन्माएको भिडियोमा देखिन्छ ।

सरकारी र निजी अस्पतालमा १० प्रतिशत विपन्न गरिबको लागि बेड छुट्याउने कानुनी व्यवस्था छ । तर संघीय सरकार अन्तर्गतको अस्पतालबाट नै प्रसव पीडाले छट्पटाइरहेकी महिलालाई लखेटिएको र फुटपाथमा शिशु जन्माउनु परेको यो घटनाले नेपालको स्वास्थ्य उपचार सेवाको प्रणालीलाई गिज्याइरहेको छ ।
बबिताको घटनाले नेपालको स्वास्थ्य प्रणालीलाई मात्र होइन सरकारको नागरिकप्रतिको दायित्व के हो भन्ने प्रश्न उठाएको छ । के राज्य हुनेखानेहरुको मात्र हो ? गरीब, असहाय र सीमान्तकृत वर्ग समुदायप्रति राज्यको कुनै भूमिका छैन ? अघिल्लो सरकारले केही गरेन भनेर सत्तामा पुगेकाहरुको क्षमता र शासकीय शैली झन कमजोर देखिएको छ भन्ने यो घटना नै बलियो प्रमाण हो । राज्यले नागरिकको आवश्यकतालाई सम्बेधन गर्न नसकेको कारण समाजमा चरम निराशा र आक्रोश पैदा भएको कुरा अब नयाँ रहेन । बाँच्ने आधार गुमाउँदा आत्मदाह गर्नुपर्ने र कसैले सहाराबहीन हुँदा सडकमै सुत्केरी हुनुपर्ने नियति नेपाली जनताले कहिलेसम्म भोग्नुपर्ने हो ? के सामाजिक सञ्जालमा मात्र सक्रिय भएर पुग्छ सरकार ? सत्तारुढ दलका सभापतिले राज्य जनताको सेवामै जुटिरहेको दाबी गरेको भोलिपल्ट नै बबिताले अस्पतालले भर्ना लिन नमान्दा सडकमा बच्चा पाउन बाध्य भएको समाचार आएको हो । के यी घटनाहरुले सरकार र सत्तारुढ दललाई छोलान् ? 

विहीबार, २५ भदौ २०८३, १४ : २१

प्रतिक्रिया